हिमाललाई जोगाउन सकिएन भने नेपालको अस्तित्वमै प्रश्न उठ्न सक्छ: मन्त्री पाण्डे
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
509
Shares
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमाललाई जोगाउन नसकिएको अवस्थामा नेपालकै अस्तित्वमा प्रश्न उठ्न सक्ने बताएका छन् ।
एमएस म्युजिक एण्ड इन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको उद्घोष गरेका हुन् ।
मन्त्री पाण्डेले भने, 'जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन् । हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्न चिन्ह उठ्न सक्छ।'
उनले प्रकृतिलाई जोगाउनु पर्ने चुनौती देखिएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।
मन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे सिंगो विश्व एक ठाउँमा उभिनु पर्ने बताए । उनले हिमाललाई हिमालकै रूपमा रहन दिने गरि विश्वजगत एक ठाउँमा उभिनका लागि संयुक्त राष्ट्र संघसमेत चिन्तित हुनुपर्नेमा जोड दिनु पर्ने बताए ।
साथै उनले नेपाल विविधतापूर्ण संस्कृति र प्रकृतिले ओतप्रोत रहेको बताउँदै विश्वबाट नेपाल भ्रमणमा आउने पर्यटकहरूमाथि अतिथि देवो भवः को मन्त्रलाई आत्मसात् गर्दै अघि बढ्न अनुरोध गरे ।
अवार्ड कार्यक्रममा १८ वटा देशका विदेशीहरूदेखि स्वदेशीहरूलाई विभिन्न विधाबाट सम्मान गरिएको थियो ।