पर्यटन मन्त्रालय नीति निर्माणमा सक्रिय, गगन भन्छन् - कति पर्यटक भित्रिएभन्दा कति खर्च गरे भन्ने महत्त्वपूर्ण
नीतिगत रूपमा कहाँ त्रुटि छ त्यसको पहिचान गरी राजनीतिक दलको सक्रिय सहभागीता र सुझावका आधारमा अन्तिम रूप दिने काम भइरहेको मन्त्री पाण्डेको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
595
Shares
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति निर्माणमा सक्रियता देखाएका छन् । मन्त्रालयको नेतृत्व सम्हालेदेखि नै कानूनी शासनको बाटोमा डोहोर्याउर्ने उद्धेश्यसहित मौजुदा नीतिहरू प्रभावकारी नभएकाले मन्त्रालय मातहतका कानून परिमार्जन, संशोधन र पुन: निर्माण कार्यलाई तीव्रता दिएका हुन् ।
मन्त्री पाण्डेको सक्रियतामा हाल पर्यटन नीतिको नयाँ मस्यौदालाई अन्तिम चरणका लागि छलफल जारी रहेको छ । बुधबार भएको छलफलका क्रममा मन्त्री पाण्डेले भने, 'शासकीय स्वरूप परिवर्तन भए पनि पुरानै कानून भएका कारणले मन्त्रालयका गतिविधिहरू प्रभावकारी बन्न सकेका छैनन् । तिनीहरूलाई व्यवस्थित र निर्देशित दिने काम नीतिले नै गर्ने गर्छ। पुराना ऐन संशोधनदेखि नयाँ ऐन निर्माणको क्रम अन्तिम चरणमा पुगेका छन् ।'
उनले नीतिगत रूपमा कहाँ त्रुटि छ त्यसको पहिचान गरी राजनीतिक दलको सक्रिय सहभागीता र सुझावका आधारमा अन्तिम रूप दिने काम भइरहेको बताए ।
त्यस्तै पर्यटन नीतिको मस्यौदामा सहभागीता जनाउँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०६५ सालको पुरानो ऐनलाई प्रतिस्थापित गर्दै नयाँ बन्ने नीतिले सीमाङ्कनमा ध्यान दिनुपर्ने बताए ।
महामन्त्री थापाले भने, 'नीति निर्माणको क्रम निरन्तरता हुनुपर्छ । पुराना कानूनको पुनरावलोकन हुनैपर्छ । नीति बनाउँदा सम्बन्धित अन्तरमन्त्रालयसँगसमेत छलफल हुन जरुरी छ। पर्यकीय क्षेत्रमा सरकारभन्दा बढी निजी क्षेत्र बढी सक्रिय र जिम्मेवार बन्न जरूरी छ ।'
महामन्त्री थापाले पर्यकीय क्षेत्रको विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी गरे, खर्च गरे भन्ने कुरा महत्त्वपूर्ण रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नु पर्नेमासमेत जोड दिए ।
त्यसैगरी पर्यटन नीति २०८१ को मस्यौदा निर्माणमा सहभागीता जनाउँदै नेकपा एमालेका महासचिव शंकर पोखरलले नीति बनाउँदा सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यानदिनु पर्नेमा जोड दिए ।
उनले भने, 'सैद्धान्तिक भन्दा पनि व्यवहारिक विषयमा ध्यान दिनुपर्छ । नेपालको भविष्य पर्यटन क्षेत्रमा छ । यो हाम्रो लागि अवसर पनि हो । जलवायु परिवर्तनको विषय पनि ऐनमा समेटिनुपर्छ । पर्यटकीय दृष्टिकोणले पूर्वभन्दा पश्चिमी क्षेत्रमा अझै सम्भावना रहेको छ ।'
पर्यटन नीतिको मस्यौदामा मन्त्री पाण्डे,राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थी, मन्त्रालयका सचिव गणेश पाण्डेय पर्यटन विभागका कार्यकारी निर्देशक सहसचिव डा नारायण रेग्मी, पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीसहित विज्ञ र जानकारहरूले सक्रिय सहभागीता जनाएका थिए ।