सरकारले भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
598
Shares
काठमाडौँ । सरकारले सुदूरपश्चिम र जाजरकोटमा गएको भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन (डीडीए) गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यसमितिको बैठकले सुदूरपश्चिम र जाजरकोटमा बाढी र भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्याङ्कन गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले बैठकले गत असोजमा काठमाडौँ लगायतका क्षेत्रमा आएको बाढी, पहिरोको क्षतिको विस्तृत मूल्याङ्कन (डीडीए) गर्ने निर्णय समेत गरेको बताए। उनले डीडीए सम्पन्न भइसकेका क्षेत्रहरूमा सरकारले बनाएको मापदण्डअनुसार पुनर्निर्माणको काम प्रारम्भ गर्ने निर्णय भएको समेत जनकारी दिए ।
उनकाअनुसार बैठकमा बझाङ, बाजुरा र जाजरकोटमा गएको भूकम्पले गरेको क्षति र त्यसको पुनर्निर्माणको लागि आवश्यक कानूनी एवं आर्थिक विषयमा पनि छलफल भएको छ । गृहमन्त्री लेखकले उक्त निर्णयहरू विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा पेस गरिने बताए । राष्ट्रिय परिषद्को बैठकबाट सदर भएपछि यि निर्णयहरू कार्यान्वयनको चरणमा जाने उनको भनाइ छ ।