जिमी कार्टरको नेपालप्रति अगाध माया , धन्यै जन्मेका थिए भारतमा
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १६ मंगलबार
721
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । अमेरिकाका ३९ औं राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको सय वर्षको उमेरमा आइतबार निधन भएको हो । शान्ति स्थापनामा उनको स्मरण जीवन्त रहने छ ।
जिमी कार्टरका छोरा चिप कार्टरले जिमी आफ्ना लागिमात्र नभइ ती सबैका हिरो थिए जो शान्ति, मानवअधिकार र निस्वार्थ प्रेममा विश्वास गर्छन् भनेका छन् ।
जसरी जिमीले मानिसलाई आफ्नो साथमा ल्याउँथे त्यही कारणले आज पूरा विश्व आफूहरुको परिवार भएकोसमेत चिप कार्टरले बताएका छन् ।
जिमीको जन्म किसान परिवारमा भएको थियो । उनी सन् १९६० मा राजनीतिमा आए । १९७१ मा पहिलो पटक राज्यको गभर्नर बने । ६ वर्षपछि रिपब्लिकन पार्टीका राष्ट्रपति जेराल्ड फोर्डलाई हराएर राष्ट्रपति बने ।
उनको कार्यकालमा उनले कयौँ ठूला चुनौतीको सामना गरेका थिए । सो समयमा शीतयुद्धको तनाव, तेलको अस्थिर भाउ र नश्लीय समानता तथा महिला अधिकारलाई लिएर अमेरिकी राज्यहरुमा आन्दोलन चर्किएको थियो ।
उनको नेपाल र भारतसँगको नाता भने अजबको छ ।
नेपालमै आएका थिए छ पटक
कार्टर नेपालमा छ पटक आए । राष्ट्रपतिबाट हटेपछि आफ्नै नाममा सन् १९८२ कार्टर सेन्टर स्थापना गरे । उक्त कार्टर सेन्टरले नेपालमा पनि काम गरेको थियो । सन् २००३ देखि कार्टर सेन्टरले नेपालमा काम गरेको थियो ।
कार्टर सगरमाथा क्षेत्रको भ्रमणदेखि नेपालको शान्ति प्रक्रियालाई सफल पार्न महत्व भूमिका खेल्ने व्यक्तिमध्ये पर्छन् । उनले शान्ति प्रक्रियामा आएपछि पनि माओवादीले जारी राखेको हिंसात्मक गतिविधिप्रति असन्तुष्ट थिए । पटक पटक नेताहरुलाई भेटेरै आपत्तिसमेत जनाएका थिए ।
कार्टरले सन् २००७ नोभेम्बर २२ का दिन नेपालको संसदलाई सम्बोधनसमेत गरेका थिए । मतदानका बेलामा पनि उनी आएका थिए र मतदातासँगै कुराकानीसमेत गरेका थिए ।
सन् २०११ मा संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अनमिन फर्किएपछि नेपालको शान्ति प्रक्रिया पर्यवेक्षण गर्ने कार्टर सेन्टर एक मात्र अन्तर्राष्ट्रिय पर्यवेक्षक समूह नेपालमा रहेको दाबी कार्टरले गरेका थिए ।
उनी नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनका लागि निकै नै गम्भीर भएर लागेका थिए । साथै २०७२ को भूकम्पले ग्रस्त नेपालीलाई सघाउन आउने उनको खुवै ठूलो चाहना थियो । तर आउन पाएनन् ।
उनको नेपालप्रतिको माया भने अगाध थियो ।
त्यसपछि उनी बिमार भए । थलिए । २०२३ देखि त उनले अस्पतालमा उपचार गर्न मानेनन् । उनको जर्जियास्थित निवासमै स्वास्थ्य टोलीले उपचार गर्दै आएको थियो । र सय वर्षमा उनी गत आइतबार बिते ।
विश्वभरमै मानवियता र शान्तिका लागि जिमी कार्टरले दिएको योगदानको भने वर्षौँ सम्झना भइरहने छ । उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कारसमेत पाएका थिए ।
भारतसँगको अचम्मको सम्बन्ध
अमेरिकामा जन्मेका जिमी कार्टरको भारतसँग विशेष सम्बन्ध रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कतिसम्म भने कार्टरको नामबाट भारतको हरियाणा राज्यको एउटा गाउँको नाम नै राखिएको छ ।
वास्तवमा सन् १९७८ मा तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टर भारत आएका थिए । आफ्नो भ्रमणको क्रममा उनले गुरुग्राम जिल्लाको दौलतपुर नसीराबाद गाउँ घुम्ने इच्छा व्यक्त गर्दा सबैजना अचम्ममा परे र अमेरिकामा जन्मेका जिमी कार्टरलाई दौलतपुर नसीराबाद गाउँको बारेमा कसरी थाहा भयो र उनी त्यहाँ जान किन चाहन्थे ? यो सबैको चासोको विषय रहन गयो ।
जिमी कार्टरले सन् १९७८ मा अमेरिकाको राष्ट्रपतिको रूपमा भारतको भ्रमण गरेका थिए। त्यस समयमा मोरारजी देसाई आफ्नो आमा र श्रीमतीसँग दौलतपुर नसीराबाद गाउँमा गएका थिए । जब जिमी कार्टर आफ्नी आमा बेसी लिलियन कार्टर र रोजलिन कार्टरसँग दौलतपुर नसीराबाद गाउँ पुगे, तब त्यहाँको सम्पूर्ण वातावरण बदलियो। अमेरिकी राष्ट्रपतिले उनीहरूलाई यति राम्रोसँग भेट्नेछन भने स्थानिय गाउँलेहरूले कल्पनासमेत गरेका थिएनन् ।
जिमी कार्टरकी आमा नर्स थिइन् र विश्वयुद्धको बेला भारत आएकी थिइन् । उनकी आमा बारम्बार दौलतपुर नसीराबाद गाउँमा आउने जाने गर्दथिन् र जैलदार सरफराजको हवेलीमा जान्थिन् । जुन समयमा जिमी कार्टर उनको गर्भमा आएका थिए । केही वर्ष भारतमा बसेपछि उनी अमेरिका फर्किइन् । त्यसपछि कार्टर जन्मिए ।
तर उनकी आमाको मन भने दौलतपुर नसीराबाद गाउँ बसेको थियो । यस्तो अवस्थामा जब उनले छोरा भारत भ्रमणमा हुन गइरहेको थाहा पाइन् उनले दौलतपुर नसीराबाद गाउँ जाने इच्छा व्यक्त गरिन् । जसलाई जिमी कार्टरले पूरा पनि गरिदिए र आमालाई दौलतपुर नसिराबाद गाउँमा लगिदिए ।
दौलतपुर नसीराबाद गाउँका मानिसहरूले जिमी कार्टरलाई यत्ति धेरै मन पराए कि उनीहरूले आफ्नो गाउँको नाम परिवर्तन गरेर नै ‘कार्टरपुरी’ नाम राखिदिए । जिमी कार्टर यहाँ आउँदा तत्कालीन प्रधानमन्त्री मोरारजी देसाई पनि उनीसँगै थिए । गाउँलेहरूले उनलाई भव्यताका साथ स्वागत गरे र हरियाणवी लुगा उपहार दिए। जुन उनले लगाएका पनि थिए ।
अमेरिकाका पूर्व राष्ट्रपति तथा नोबेल शान्ति पुरस्कार विजेता जिमी कार्टरको आइतबार निधन भएको छ । जिमी कार्टरले सन् १९७७ देखि १९८१ सम्म देशको नेतृत्व गरेका थिए।