स्रोत नखुलेको ९२ लाखसहित पक्राउ परेका तीन जना सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १२ शुक्रबार
439
Shares
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका तीन जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका–१ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका–६ आरुबारी बस्ने ३४ वर्षीय रवि धमला, सङ्खुवासभा, पाँचखपन नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–७ चावहिल बस्ने ३० वर्षीय सन्तोष विक (खाती) तथा रसुवा, उत्तरगया गाउँपालिका–२ घर भई हाल काठमाडौँ तारकेश्वर–४ लोलाङ बस्ने ३९ वर्षीय जीतबहादुर तामाङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।
उनले भने, “स्रोत नखुलेको रकमसहित केही व्यक्तिहरु शङ्कास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यही पुस ९ गते पक्राउ गरी आज सार्वजनिक गरेका छौँ ।” पक्राउ परेकामाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए ।