माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैन - विप्लव [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ११ बिहिबार
649
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी फुट्ने क्रम नरोकिने बताएका छन्। बिहीबार माओ दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै चन्दले माओवादी फुटेर साउने भेलजस्तो भएको उल्लेख गर्दै माओवादी नभएको कुनै ठाउँ नरहेको जिकिर गरे।
माओवादी फुटेर १९ वटा भइसकेको उनको भनाइ छ । उनले माओवादी नेताहरुको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गर्दै माओवादीहरूले मुलुकमा तरङ्ग ल्याउने गरेको बताए ।
उनले भने, ‘माओवादी लड्दालड्दै धेरै बढे पनि अटाएन । छल्कियो, यताउता पोखियो भने पनि हुन्छ । साउनको भलेजस्तो कुलातिर पनि पस्या छ, झारीतिर पनि पस्या छ । बाटोमा पनि हिँड्या छ । कहाँ पुगेन माओवादी आज ? सबैतिर छ । माओवादी नभएको ठाउँ देख्नुहुन्न । फुट्न पनि हामी जति को फ्ट्या होला र ? एउटा साथीले डायरीमा लेख्नुभएछ । माओवादी १९ वटा पुगेछ । अर्को पनि थप्नुस् । २० हुन्छ । फुटेर कहाँ पुग्ने हो निश्चित छैन । फुट्दाफुट्दै जब यो सकिन्छ नि त्यसपछि सायद केन्द्रित पनि हुन्छ होला । कति फुट्यो ? सकियो कि सकिएन ? हिसाब हुँदै छ । यो साँचो कुरा हो । माओवादीका सबै घटकहरूमा यो बहसहरू चलिरहन्छन् नि त । विभिन्न तरङ्गहरू छन् किनभने माओवादीको मन शान्त छैन । मन शान्त नभएर दिमाग स्थिर छैन । समाजमा हाम्रोबारेमा अनेकौँ खालका तर्कहरू छन् । माओवादीहरू शान्त भएर बस्ने मान्छेहरू पनि होइनौँ नि त ।’