भारतले आरजूसँग दूरी बनाउँदा केपी ओलीको भारत भ्रमण अनिश्चित
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ९ मंगलबार
1.1k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजू राणा देउवा युरोपका केही देश र भारतको भ्रमण सकेर सोमबार साँझ नेपाल फर्किन् । उनको करिब दुई हप्ता लामो युरोप भ्रमण फलदायी नै रह्यो ।
उनी गत मंसिर २२ गते युरोप गएकी थिइन् । उनले सञ्चारकर्मीसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूले युरोपमा महत्वपूर्ण भेटघाट तथा वार्ता गरेको र नेदरल्याण्ड्सको हेगमा अवस्थित अन्तर्राष्ट्रिय अदालतमा नेपालका तर्फबाट जलवायु न्याय मागका लागि आधारहरु प्रस्तुत गरेको जानकारी दिइन् ।
उनको यो भ्रमणको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र पाउनुपर्ने क्षतिपूर्तिबारे नेपालका तर्फबाट प्रस्तुति दिने रहेको थियो ।
सो क्रममा राणाले अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलो पटक जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै जलवायु न्याय (क्लाइमेट जस्टिस) को माग गरेको जानकारी दिइन् ।
त्यसपछि उनले लक्जेम्बर्गका उपप्रधानमन्त्री, विदेश एवं वैदेशिक व्यापारमन्त्री जेभियर बेटेल र बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग छुट्टाछुट्टै भेटवार्ता गरी द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी गरेको जानकारी दिइन् ।
आफूले यस भ्रमणकै क्रममा युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्रा र कमिसनर फर इन्टरनेशनल पार्टनरसिप जोजेफ सिकेलासँग बेल्जियमको ब्रसेल्समा छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल र युरोपियन युनियनबीचको सम्बन्ध, जलवायु परिवर्तनका कारण नेपालमा परेको असर र नेपालले पाउनुपर्ने जलवायु न्यायका बारेमा कुरा गरेको जानकारी दिइन् ।
साथै उनले युरोपेली आकाशमा नेपाली वायु सेवालाई लगाइएको प्रतिबन्ध (सेफ्टी लिस्ट) सम्बन्धी प्रावधान हटाउने विषयमा पहल गर्न पनि उनीहरुलाई आग्रह गरेको बताइन् ।
मन्त्री डा राणाले जर्मनीको पोट्सडाममा अवस्थित जलवायु सम्बन्धी अनुसन्धान संस्थामा पुगेर त्यहाँका वैज्ञानिक एवं अनुसन्धानदाताहरुसँग अन्तरक्रिया गरी जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र र समुदायमा परेको असरबारे अनुसन्धान गर्न आग्रह पनि गरेकी थिइन् ।
त्यसैगरी उनले जर्मनीको बर्लिनमा आयोजित समान अधिकार सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूह (एलजीबीटी) व्यक्तिहरूको समावेशीकरण र मानवअधिकारका पक्षमा नेपालले धेरै उपलब्धि हासिल गरेको जानकारी अन्तर्राष्ट्रिय समुदायलाई गराएको पनि बताइन् ।
भारतमा यसपालि के भयो ?
उनी जर्मनीको बर्लिनबाट शुक्रबार भारतको नयाँदिल्ली आइपुगेकी थिइन् । नयाँदिल्लीमा आयोजित भारत–नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेकी थिइन् ।
त्यस अवसरमा उनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग पनि सहयोगको अपेक्षा गरिएको भन्दै भारतीय एयरलाइन्स अपरेटरहरुसँग थप उडानका लागि आग्रहसमेत गरिन् ।
उनले यस पटकको आफ्नो भारत भ्रमण सो आर्थिक सम्मेलनमा सहभागी हुने र आफ्नो स्वास्थ्य उपचारको फलोअप रहेकाले कुनै राजनीतिक भेटघाट या कुराकानी नभएको स्पष्ट गरिन् ।
उनी उपचारका लागि जापानमा समय मिलाउन खोजेकी थिइन् । त्यहाँ समय नमिलेपछि भारतमै उनले फलोअप गरेकी हुन् । जसका कारण उनी जर्मनीबाट फर्कदा स्वास्थ्य उपचारलाई प्राथमिकता दिएकी थिइन् ।
त्यसबाहेक उनको राजनीतिक भेटघाटको कार्यक्रम केही पनि थिएन् ।
किन झूट बोले केपी ओलीका सल्लाहकार रिमालले ?
आरजू यहाँबाट युरोप जाँदा नै फर्कदा भारतमा ‘भारत–नेपाल आर्थिक सम्मेलन’ मा सहभागी हुनेमात्र कार्यक्रम तय भएको थियो ।
परराष्ट्र मन्त्रालयका एक कर्मचारीका अनुसार उनको भ्रमणका क्रममै उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनेमात्र कार्यक्रम थियो । त्यसबाहेक उनी केही दिन बसेर स्वास्थ्योपचार गर्ने भन्नेमात्र थियो ।
तर उनी जानुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवं एमालेका उपमहासचिव विष्णु रिमालले परराष्ट्र मन्त्रीले यसपालि भारतमा रहेर प्रधानमन्त्रीको भ्रमणको कार्यतालिका तय गर्ने बताएका थिए ।
उनले मिडियामा आरजूको भारत भ्रमण नै ओलीको भ्रमणका लागि तालिका तय गर्नु नै रहेको पटक पटक बताएका थिए ।
उनको यो भनाइ र आरजूको कार्यतालिकासँग कुनै मेल खाँदैनथ्यो । रिमालले परराष्ट्र मन्त्रीले भारतीय समकक्षी डा एस जयशंकरसँग कुराकानी गरेर भ्रमणको तालिका बनाउने र प्रधानमन्त्री ओलीको भ्रमण छिट्टै तय हुनेसमेत बताएका थिए ।
उनले यसरी जानकारी दिइरहँदा यसबारेमा आरजूलाई कुनै पत्तो नै थिएन । किनकि उनको तालिका यो छँदै थिएन ।
अर्कातिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कुवेत भ्रमणका क्रममा रहँदा जयशंकर पनि उतै व्यस्त हुनुपर्यो । त्यसले पनि आरजूले जयशंकरसँग छलफल गर्ने कुनै कार्यक्रम हुने कुरै भएन ।
त्यस्तै आरजूको यो भ्रमणमा भारतीय कुनै पनि पक्षलेसमेत भेट नगर्दा भने केही चिसो पसेको हो कि भन्ने शंका यद्यपि छँदैछ । सम्भवतः कुनै भेटको कार्यक्रम पहिले नै तय नभए पनि तिनै ओलीका सल्लाहकार रिमालको मिडिया ट्रायलको दबाबमा आरजूले प्रयत्न गरेको हुन सक्ने सम्भावनालाई नकार्न भने सकिँदैन ।
के टरेकै हो त ओलीको भारत भ्रमण ?
तत्कालका लागि प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने कुनै संकेत नै देखिँदैन । पहिलो पटक परराष्ट्र मन्त्री राणाको भारत भ्रमण भने गज्जबको भएको थियो । उनले निकै ठूलो सम्मान पाएकी थिइन् ।
उनी भदौको पहिलो साता पहिलो पटक परराष्ट्र मन्त्रीको रुपमा भारत गएकी थिइन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत प्रधानमन्त्रीको हैसियत जसरी राणाको सम्मान गरेका थिए । त्यो बेला आरजूको सम्मानको नेपालमा व्यापक चर्चासमेत भएको थियो ।
मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई साथमै राखेरसमेत आरजूसँग विशेष भेटघाट नै गरेका थिए । आरजूले मोदीलाई प्रधानमन्त्री ओलीका तर्फबाट नेपाल भ्रमणको निम्तो दिँदा मोदीले सहश्र स्वीकार गर्दैै समय मिलाएर आउनेसमेत बताएका थिए ।
उक्त भ्रमणका क्रममा जयशंकरसँग उनले द्विपक्षीय वार्तासमेत गरेकी थिइन् । यस्तो लाग्दथ्यो कि नेपालको परराष्ट्र नीतिमा कायापलट हुँदैछ । आरजूले भारतमाथि जादू नै चलाइन् जस्तो अनुभूति पनि राजनीतिक वृत्तले गरिरहेको थियो ।
आरजू नेपाल आएपछि यस्तो लाग्थ्यो कि केपी शर्मा ओली र नरेन्द्र मोदीबीच बढेको तिक्तता पनि उनले चिर्न सफल भइन् ।
ओली अमेरिका संयुक्त राष्ट्र संघको कार्यक्रमबाट फर्केपछि भारत भ्रमणमा जान पाउने अपेक्षामा थिए । यथार्थमा मोदीले ओलीलाई निम्तो भने दिएका थिएनन् ।
भारत जान नपाएपछि ओलीको साइत चीनतर्फ मोडियो । चीनमा गएर उनले सात वर्षदेखि रोकिएको चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा हस्ताक्षर भयो । यो हस्ताक्षरले भारत खुशी पक्कै नभएको संकेत यसपालि आरजूको भारत बसाईको क्रममा देखियो ।
किनकि उनी भारतमा रहँदा केही मन्त्रीहरुसँगै नेताहरुसँग भेट्ने चाह राखेकी थिइन् । कुरा गर्न खोजेकी थिइन् । तर मोदी र जयशंकर बाहिर भएका बेलामा भारतीय जनता पार्टीका कुनै मन्त्री र नेताले आरजूसँग कुराकानी गर्ने आँट गरेनन् ।
यसको सबै ‘डिलिङ’ जयशंकरले नै गर्ने अड्कल गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतको रहेको बुझ्न सकिन्छ ।
यतिसम्मकि यसपालि मोदी र जयशंकर नहुँदा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीलेसमेत पनि भेट गर्ने आवश्यकता ठानेनन् ।
यी घटनाक्रम हेर्दा भारत ओलीको भारत भ्रमण तत्कालका लागि टार्न खोजिरहेको स्पष्ट हुन्छ ।
त्यसो त प्रधानमन्त्री ओली छट्पटिएको लामो समय भइसकेको छ । उनी भारत जान नपाएर छट्पटिएकोमा दुईमत छैन ।
उनी पहिलो कार्यकाल प्रधानमन्त्री हुँदादेखि नै भारतसँग त्यतिराम्रो सम्बन्ध बन्न सकेको छैन । त्यतिबेलादेखि नै नरेन्द्र मोदी भारतको प्रधानमन्त्री छन् ।
ओलीको अन्टसन्ट प्रतिक्रियाप्रति मोदी पहिलेदेखि नै रुष्ट भएको यसले पनि देखाउँछ ।
फेरि नेपालमै पनि सत्ता समीकरण बदलिने संकेत पहिलेदेखि नै भइरहेको छ । ओलीले हरेक भाषणमा यो गठबन्धन ०८४ को चुनावसम्म नै रहने बताउँदै जुनसुकै महिना पनि १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता सुम्पने बताइरहेका छन् ।
लगातार उनले यो प्रसङ्ग बाहिर निकाल्नुले ओली आफ्नो कार्यकालप्रति विश्वस्त छैनन् कि भन्ने मानसिक संकेत पनि हो ।
अहिले तत्काल भारत नेपालको आन्तरिक मामलामा नफस्ने प्रयत्नमा रहेको पनि हुन सक्छ । भारतले सानो त्रुटि गर्नासाथ त्यसलाई नै ओलीले तिलको पहाड बनाउन खोज्नेतर्फ पनि भारत सचेत भएको हुन सक्ने कूटनीतिक बुझाइ रहेको पनि हुन सक्छ ।
अनेक शंकाबीच भारतले तत्काल प्रधानमन्त्री ओलीको भारत भ्रमण नचाहेको अनुमान गर्न सकिन्छ । यसअघि पुस अन्तिम साता ओलीको हुन सक्ने भनिएको भ्रमणको साइत भने तुहिसकेको छैन ।