काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेलसहित आयोगका पदाधिकारीले बल्ल भेट्न पाएका छन् । आयोगले तयार पारेको प्रतिवेदन बुझाउनेबारे आयोग पदाधिकारीले प्रधानमन्त्री दाहाललाई पटक–पटक भेट्न खोजेका थिए ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आयोगले तयार गरेको प्रतिवेदन समय मिलाएर सरकारले ग्रहण गर्ने बताएको आयोगका अध्यक्ष पौडेलले जानकारी दिए ।
संविधानको धारा २९५ अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले आयोग गठन गरेको थियो । आयोगले गाउँपालिका, नगरपालिकाको सङ्ख्या तथा सीमाना निर्धारण गरी पहिलो प्रतिवेदन तयार गरेको छ ।
भेटमा प्रधानमन्त्री दाहालले स्थानीय निकायको निर्वाचनको तयारीमा सरकार जुटेको बताए । आयोगले तयार पारेका प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी दिएको अध्यक्ष पौडेलले दिए । सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे समेत सहभागि थिए ।