इलाममा लोकतान्त्रिक अपाङ्ग संघका पदाधिकारीहरु सर्वसम्मत चयन
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ६ शनिबार
1.2k
Shares
इलाम । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको दोस्रो इलाम जिल्ला अधिवेशनबाट रविन्द्रनाथ अधिकारीसहित पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।
कांग्रेसका अग्रज नेता तथा महासमिति सदस्य तोयानाथ भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनमा भट्टराईले कांग्रेसले अपाङ्गता भएकाहरुलाई नीतिनिर्माण तहमा पुर्याउनु पर्नेमा जोड दिए । उनले इलामबाटै पनि सक्षम व्यक्तिहरु भएकाले नीतिनिर्माण तहमा जाने अवसर पाएमा कुनै कसर नछाड्नेमा निश्चिन्त रहेकोसमेत बताए ।
लोकतान्त्रिक अपाङ्ग संघका केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले आफूहरु लामो समयदेखि पार्टीमा काम गरिरहेको भन्दै अब राजनीतिक अधिकारका लागि काम गर्ने बेला आएको बताए ।
उनले पार्टीभित्रको संरचनामा अपाङ्गता भएकाहरुले वडातहदेखि नै अवसर पाउनु पर्ने भन्दै त्यसका लागि प्रयासरत रहेको बताए ।
साथै चम्लागाईले पार्टीको विधान संशोधन गरेरै भए पनि स्थानीय तहदेखि प्रतिनिधि सभासम्मै अपाङ्गता भएका सदस्यहरुको सहभागीता सुनिश्चित गर्नका लागि केन्द्रसँग समन्वय गरिरहेको बताउँदै राजनीतिक अधिकार प्राप्ति नै अबको मुख्य ध्यान रहेको बताए ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य भेषराज आचार्यले राजनीतिक अधिकारका लागि इलामबाटै थालनी गर्ने भन्दै अपाङ्गता भएकाहरु सक्षम रहेको बताए ।
इलामकी कांग्रेस उपसभापति एवं उपमेयर बिष्णुकुमारी दाहालले महिलासँगै अपाङ्गता भएकाहरुले समान अवसर पाउनु पर्ने भन्दै दुवै कामका लागि सक्षम रहेको बताइन् ।
अर्का उपसभापति खगेन्द्र देवानले अल्पसंख्यक र अपाङ्गता भएकाहरुलाई छुट्टाछुट्टै क्लस्टरमा राखेर सम्मान गर्नका लागि इलाम कांग्रेसले पहल गर्ने बताए ।
पार्टी सचिव निरोज खड्गीले पार्टीले वडातहदेखि नै अपाङ्गता भएकाहरुलाई अवसर दिने बताए ।
कांग्रेस जिल्ला सदस्य एवं मेयर केदार थापाले अपाङ्गता भएकाहरुको हरेक कुरामा आफूहरु सहयोगी हुने भन्दै क्षमताअनुसार पार्टीले अवसर दिनुपर्नेमा जोड दिए ।
भूतपूर्व सैनिक संघ इलामका अध्यक्ष दुर्गाराज देवानले पनि शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि ईश्वर चिवालू, कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सचिव बविन राई, प्रदेश २, १ का सचिव दिपेश खत्री, कांग्रेस इलाम नगर सभापति तीर्थ गुरुङ, नेपाल महिला संघ इलामकी अध्यक्ष भगवती कोइराला मञ्जु , नेपाल तामाङ संघ इलामका अध्यक्ष दलमान तामाङ, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ध्रुव राई लगायतको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनमा अधिवक्ता तीर्थराज खतिवडाले निर्वाचनको सहजीकरण गरेका थिए । कार्यक्रममा जिल्लाभरका विभिन्न पालिकाबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।