एसिया कपको फाइनलमा पुग्न नेपालले बंगलादेशलाई दियो ५५ रनको चुनौती
वर्षाले खेल ११ ओभरमा झारियो, छिटो रन जोड्ने धुनमा चार खेलाडी रन आउट
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
578
Shares
काठमाडौँ । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरको दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेलिरहेको छ ।
मलेसियाको क्वालालम्पुरमा जितका लागि नेपालले बंगलादेशलाई मात्र ५५ रनको चुनौती दिएको छ ।
बिहान ११ः४५ बजेदेखि शुरु हुनुपर्ने खेल वर्षाका कारण ढिला गरी शुरु हुँदा ११ ओभरमा झारिएको छ ।
खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ५४ रनमात्र बनायो ।
छिटो रन जोड्ने धुनमा नेपालका चार खेलाडी रनआउट भएका छन् । सावित्री धामीले सर्वााधिक ११ रन बनाइन् । त्यसतै कप्तान पूजा महतोले ९ रन जोडिन् ।
फाइनलमा पुग्नका लागि नेपाललाई जित्नैपर्ने दबाब रहेको छ । अब नेपालको बलिङ चलेन भने नेपालले फाइनल पुग्ने अवसर गुमाउने छ ।
भारत भने फाइनलमा पुगिसकेको छ । सुपर फोरका दुवै खेल जितेर भारत ७ अंकसहित फाइनलमा पुगेको हो ।
नेपालले बिहीबारको खेलमा श्रीलंकाविरुद्ध वर्षाले प्रभावित भएसँग अंक बाँडेको थियो ।
नेपालको समूहबाट नेपाल र भारत तथा अर्को समूहबाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका थिए । श्रीलंका ३ अंकसहित बाहिरिएको छ ।
समूह चरणमा नेपालले पाकिस्तानलाई हराएको थियो भने भारतसँग बराबरी गरेको थियो । त्यस्तै भारतले पाकिस्तानलाई हराएको थियो ।
अर्को समूहबाट मलेसिया दुवै खेल हारेर बाहिरिएको थियो ।
यसअघिका भिडन्तको नेपालको नतिजा
सुपर फोरको पहिलो खेल
यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ ।
मलेसियाको क्वालालम्पुरमा वर्षाले खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् । बिहीबारको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोज्दै मैदानमा उत्रिएको भए पनि एक ओभरमात्र सम्भव भएको खेलमा कप्तान पूजा महतोले एक रन दिएर एक विकेट लिइसकेकी थिइन् ।
तर वर्षाका कारण दोस्रो ओभरसमेत हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् ।
समूह चरणको खेल–
नेपाल र भारत–
नेपाल र भारतले अंक बाँडे । नेपालले भारतलाई ९५ रनको चुनौती दिएकामा मलेसियाको क्वालालम्पुरमा ब्याटिङ गर्न उत्रेको भारतले ३.१ ओभर खेल्दै २८ रन बनाएको अवस्थामा वर्षाले खेल अगाडि बढ्न नसकेपछि रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाँडे । दुवै टिमको समान ३–३ अंक भए पनि भारत समूह विजेता बन्दै सुपर फोरमा पुग्यो भने नेपाल उपविजेता बन्दै सुपर फोरमा पुग्यो ।
नेपाल र भारतले पाकिस्तानलाई पराजित गरेका थिए । भारतविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रन बनायो ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजा महतोले रनआउट हुनुपूर्व ४० बलमा २५ रन बनाइन् ।
त्यस्तै अलिशाकुमारी यादवले ९ बलमा अविजित रहँदै २० रन बनाइन् । नेपालले १८ रन अतिरिक्तका रुपमा पाएको थियो । भारतका लागि परुनिका सिसोदियाले ४ विकेट लिइन् ।
नेपाल र पाकिस्तानबीचको खेल
नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो । खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १०४ रन बनायो ।
ओपनर कोमल खानले ४२ बलमा ३८ तथा महम एन्नेसले ३९ बलमा २९ रन बनाइन् ।
नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचनाकुमारी चोधरी, रिया शर्मा तथा सीमना केसीले १–१ विकेट लिए ।
जवाफमा १०५ रनको सामान्य चुनौती नेपालले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् ।
त्यस्तै सोनी पाख्रिनले १३ तथा सीमना केसीले अविजित रहँदै १२ बलमा १२ रन बनाइन् ।
भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको थियो भने नेपाल भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको थियो ।
अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । बंगलादेशले दुवै खेल जितेको छ भने श्रीलंका एक जितसहित सुपर फोरमा पुगेको छ । मलेसिया दुवै खेल हारेर बाहिरिएको छ ।
पूजा महतोको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप टी–२० क्रिकेटमा स्थान बनाएको छ ।
विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी–२० एसिया कपमा पनि स्थान बनाएको हो ।