भारत बन्यो सुपर ओभर स्पेशलिष्ट, श्रीलंका पराजित, फाइनलमा पाकिस्तान प्रतिद्वन्द्वी
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ११ शनिबार
1.2k
Shares
काठमाडौँ । एसिया कप क्रिकेटमा भारतले श्रीलंकामाथि रोमाञ्चक जित हासिल गरेको छ । दुबईमा शुक्रबार राति भएको स्पर फोरको अन्तिम खेलमा सुपर ओभरमा जित हासिल गर्दै भारत अपराजित रहँदै फाइनलमा पुगेको छ ।
श्रीलंका भने सुपर फोरमा जितविहीन हुँदै बाहिरिएको छ । फाइनलमा भारत र पाकिस्तान खेल्नेछन् ।
यसअघि भारतले समूह चरण र सुपर फोरमा पाकिस्तानलाई हराइसकेको छ । तर अहिलेसम्म फाइनलमा १२ भिडन्त भएकामा भारत चारमा मात्र विजयी भएको छ ।
फाइनल खेल आइतबार हुनेछ ।
श्रीलंकाविरुद्धको खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा २०२ रन बनायो । अभिषेक शर्माले ३१ बलमा ६१ रन जोडे । त्यस्तै तिलक वर्माले ३४ बलमा अविजित रहँदै ४९ रन जोडे ।
अभिषेकले एसिया कप टी–२० मा सबैभन्दा बढी रन बनाउने खेलाडीको नाम लेखाएका छन् । उनले विराट कोहली र मोहम्मद रिजवानलाई पछाडि छाडेका छन् ।
उनले ६ खेलमा ३०९ रन बनाएका छन् ।
सन् २०२२ मा मोहम्मद रिजवानले ६ इनिङस्मा २८१ रन बनाएका थिए ।
विराट कोहलीले ५ इनिङ्समा २७६ रन बनाएका छन् । अभिषेकले छैटौँ पटक २५ वा त्यो भन्दा कम बलमा अर्धशतक लगाउने कीर्तिमान पनि बनाएका छन् ।
सुपर ओभरमा श्रीलंकाले २ रनमात्र बनायो । उसले लगातार २ विकेट गुमायो । ब्याटबाट एक रन बनाउँदा एक रन अतिरिक्त पाएको थियो ।
अर्शदीप सिंहले विकेट लिए । जवाफमा भारतले पहिलो बलमै जित हासिल गर्यो । कप्तान सूर्यकुमार यादवले पहिलो बलमै तीन रन लिएर जिताए ।
भारत टी–२० को सुपर ओभर स्पेशलिष्ट भएको छ । उसले अहिलेसम्म सुपर ओभर खेलेका सबै ६ खेल जितेको छ । सात खेल टाइब्रेकरमा टुंगो लागेकोमा एक खेल बलआउटमा टुंगो लागेको थियो । सन् २००७ मा पाकिस्तानविरुद्ध भएको खेल बलआउटमार्फत टुंगो लागेको थियो । उक्त खेल पनि भारतले नै जितेको थियो ।