सुपर फोरको अन्तिम खेलमा फाइनल पुग्न नेपालले बंगलादेशसँग खेल्दै
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ५ शुक्रबार
730
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरको दोस्रो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।
खेल मलेसियाको क्वालालम्पुरमा बिहान ११ः४५ बजेदेखि शुरु हुँदैछ । फाइनलमा पुग्नका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब रहेको छ ।
नेपालको समूहबाट नेपाल र भारत तथा अर्को समूहबाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका हुन् ।
सुपर फोरमा नेपालले पहिलो खेल श्रीलंकासँग खेलेकामा वर्षाले रद्ध भइ अंक बाँड्नु परेको थियो । भारतले भने बंगलादेशलाई हराउँदा श्रीलंकामाथि पनि हावी भएको छ ।
शीर्ष दुईमा रहने टिमले उपाधिका लागि फाइनल खेल्ने भएकाले नेपाललाई बंगलादेशमाथि जित्नैपर्ने दबाब छ ।
अर्को समूहका टिमसँग एक एक खेल खेल्ने नियमानुसार नेपालले बिहीबार श्रीलंकासँग खेलेको थियो भने आज बंगलादेशसँग खेल्दै गरेको हो ।
अंक तालिका
अहिलेको अंक तालिका हेर्दा भारतको ५ अंक छ भने बंगलादेशको ४ अंक छ । नेपालको पनि ४ अंक नै छ । श्रीलंकाको ३ अंक छ ।
आज भारतले श्रीलंकासँग पराजय भोगे पनि फाइनलमा पुग्नेछ । नेपालले बंगलादेशलाई हराउन सक्यो भने फाइनल खेल भारतसँग हुनेछ ।
समूह चरणको खेलमा वर्षाले गर्दा नेपाल र भारतको खेल रद्ध भएको थियो । यद्यपि खेल हुन सकेको भए भारतले सहज विजय हात पार्ने लगभग पक्का थियो ।
यसअघिका भिडन्तको नतिजा सुपर फोरको पहिलो खेल
यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ ।
मलेसियाको क्वालालम्पुरमा वर्षाले खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् । बिहीबारको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोज्दै मैदानमा उत्रिएको भए पनि एक ओभरमात्र सम्भव भएको खेलमा कप्तान पूजा महतोले एक रन दिएर एक विकेट लिइसकेकी थिइन् ।
तर वर्षाका कारण दोस्रो ओभरसमेत हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् ।
समूह चरणको खेल– नेपाल र भारत–
नेपाल र भारतले अंक बाँडे । नेपालले भारतलाई ९५ रनको चुनौती दिएकामा मलेसियाको क्वालालम्पुरमा ब्याटिङ गर्न उत्रेको भारतले ३.१ ओभर खेल्दै २८ रन बनाएको अवस्थामा वर्षाले खेल अगाडि बढ्न नसकेपछि रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाँडे । दुवै टिमको समान ३–३ अंक भए पनि भारत समूह विजेता बन्दै सुपर फोरमा पुग्यो भने नेपाल उपविजेता बन्दै सुपर फोरमा पुग्यो ।
नेपाल र भारतले पाकिस्तानलाई पराजित गरेका थिए । भारतविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रन बनायो ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजा महतोले रनआउट हुनुपूर्व ४० बलमा २५ रन बनाइन् ।
त्यस्तै अलिशाकुमारी यादवले ९ बलमा अविजित रहँदै २० रन बनाइन् । नेपालले १८ रन अतिरिक्तका रुपमा पाएको थियो । भारतका लागि परुनिका सिसोदियाले ४ विकेट लिइन् ।
नेपाल र पाकिस्तानबीचको खेल
नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो । खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १०४ रन बनायो ।
ओपनर कोमल खानले ४२ बलमा ३८ तथा महम एन्नेसले ३९ बलमा २९ रन बनाइन् ।
नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचनाकुमारी चोधरी, रिया शर्मा तथा सीमना केसीले १–१ विकेट लिए ।
जवाफमा १०५ रनको सामान्य चुनौती नेपालले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् ।
त्यस्तै सोनी पाख्रिनले १३ तथा सीमना केसीले अविजित रहँदै १२ बलमा १२ रन बनाइन् ।
भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको छ भने नेपाल भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको थियो ।
अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । बंगलादेशले दुवै खेल जितेको छ भने श्रीलंका एक जितसहित सुपर फोरमा पुगेको छ । मलेसिया दुवै खेल हारेर बाहिरिएको छ ।
पूजा महतोको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप टी–२० क्रिकेटमा स्थान बनाएको छ ।
विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी–२० एसिया कपमा पनि स्थान बनाएको हो ।