बैङ्कहरू कठिन परिस्थितिमा चलिरहेका छन्- गभर्नर अधिकारी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
675
Shares
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय बैङ्कहरू कठिन परिस्थितिमा चलिरहेका बताएका छन् । उनले बैङ्कहरूले ऋणहरूसँग ऋणको सावाँ समेत ब्याज उठ्न नसक्दा बैङ्कहरू समस्यामा रहेको उल्लेख गरे। गभर्नर अधिकारीले बैङ्किङ क्षेत्रमा वित्तीय कारोबारको काम गर्दा प्रशस्त चुनौतीहरू रहेको बताए । उनले राष्ट्र बैङ्कको नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि गर्न सघाउने खालका रहेको दाबी गरे। उनले बैङ्किङ क्षेत्रप्रति राष्ट्र बैङ्क गौरव गर्ने भन्दै नेपालको बैङ्किङ अभ्यास पारदर्शी रहेको बताए ।
उनले पछिल्लो समय बैङ्कभन्दा बाहिरको समस्याले चुनौती थपेको उल्लेख गरे। उनले बैङ्कहरूमा पछिल्लो समय पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको बताए । गभर्नर अधिकारीले राष्ट्र बैङ्कले व्यवस्था गरेको प्रोभिजनले बैङ्कहरूलाई बलियो बनाउँदै बैङ्कलाई बचाउन मद्दत गर्ने बताए । उनले प्रोभिजनको व्यवस्थाले बैङ्कहरू आत्तिने स्थिति सिर्जना हुनबाट बचेको दाबी गरे।
उनले भने,‘हामीले बैङ्किङ प्रणालीलाई सुरक्षित राख्न सकेका छौँ, बैंकर साथीहरूले सघाउनुभएको छ । जुनसुकै कठघरामा पनि बैङ्किङ क्षेत्र रिजिलियन्ट बनेर बसेको छ । कोरोनालगायत विश्वव्यापी समस्यामा पनि नेपाली बैङ्किङ क्षेत्र खरो बनेर उभिएको छ । हामीले विश्वव्यापीकरणको लाभ लिइरहेका छौँ तर विश्वव्यापी रूपमा स्वकेन्द्रित हुन थालिएको छ । यसमा अनिश्चितता मात्र निश्चित देखिन्छ । हामीले काम गर्दा प्रशस्त चुनौती छन् । बैङ्किङ क्षेत्र झन् चुनौतीमा छ । संवेदनशीलता तपाईँहरूलाई थाहै होला । हाम्रा नीति वित्तीय स्थायित्व र आर्थिक वृद्धि सघाउने खालका छन् । बैङ्किङ क्षेत्रप्रति हामीले गौरव गर्नुपर्छ । बैङ्किङ अभ्यास निकै पारदर्शी छ । पछिल्लो समय बैङ्कभन्दा बाहिरको समस्याले चुनौती थपेको हो । पुँजी राम्रो भए पनि निष्क्रिय कर्जा बढेको छ । तर प्रोभिजनले बलियो बनाएको छ । प्रोभिजनले बैङ्कलाई बचाउँछ । ऋणको साँवा ब्याज उठेको छैन, हामी यो कठिन परिस्थितिमा बाँचेका छौँ । तर, प्रोभिजनले आत्तिने स्थिति सिर्जना हुनबाट बचेको छ ।’
उनले बैङ्कको लाभांश क्षमता राष्ट्र बैङ्कको कारणले नभएर बैङ्क आफ्नै कारणले दिन नसकेको बनाए । उनले जुन बैङ्क इफिसियन्ट भयो त्यही बैङ्कले धेरै लाभांश बाँडेको भन्दै प्रोभिजनका कारण बैङ्कहरूको लाभांश क्षमता घटेको भन्न नमिल्ने उल्लेख गर्नु भयो । उनले कुनै बैङ्कले २६ प्रतिशतसम्म लाभांश बाडे भने कसैले शून्य लाभांश बाँडेको बताए । उनले बैङ्किङ क्षेत्रलाई बाह्य क्षेत्रबाट दबाब आउँदा समस्या परेको बताए । उनले ऋण नतिरे पनि हुन्छ भन्ने हल्लाका कारण तल्लो तहका बैङ्कका शाखाहरूबाट काम हुन नसकेको बताए । उनले बैङ्कको नाफामाथि प्रश्न उठ्दा पनि असहज अवस्थामा बैङ्कहरू पुगेको बताए । बैङ्कहरू नाफाबिना चल्न नसक्ने भन्दै पुँजी लगानी गरेपछि प्रतिफल आवश्यकता पर्ने बताए ।