नेपाल र श्रीलंका मैदानमा, नेपाल टस जितेर बलिङमा, दोस्रो ओभरमै वर्षा
पूजाले पहिलो ओभरमै लिइन् विकेट
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ४ बिहिबार
584
Shares
काठमाडौँ । यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरमा अहिले नेपालले श्रीलंकासँग खेलिरहेको छ ।
मलेसियाको क्वालालम्पुरमा नेपालले टस जितेर पहिले बलिङ गरेको छ । कप्तान पूजा महतोले मौसमका आधारमा पहिले टस रोजेको बताइन् ।
सोअनुसार उनले पहिलो ओभर बलिङ गर्दै १ रन दिएर १ विकेट लिएकी छन् । तर वर्षाका कारण दोस्रो ओभरको खेल भने हुन सकेन । अहिले खेल रोकिएको छ ।
उनले श्रीलंकालाई सय रनभित्र रोक्ने योजना बनाएको बताइन् । श्रीलंकाकी कप्तान मानुदी ननायाकाराले १५० रनसम्म बनाउने बताइन् ।
समूह चरणको खेल–
नेपाल र भारत–
नेपाल र भारतले अंक बाँडे । नेपालले भारतलाई ९५ रनको चुनौती दिएकामा मलेसियाको क्वालालम्पुरमा ब्याटिङ गर्न उत्रेको भारतले ३.१ ओभर खेल्दै २८ रन बनाएको अवस्थामा वर्षाले खेल अगाडि बढ्न नसकेपछि रद्द भएको हो ।
खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाँडे । दुवै टिमको समान ३–३ अंक भए पनि भारत समूह विजेता बन्दै सुपर फोरमा पुग्यो भने नेपाल उपविजेता बन्दै सुपर फोरमा पुग्यो ।
नेपाल र भारतले पाकिस्तानलाई पराजित गरेका थिए । भारतविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रन बनायो ।
कमजोर ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजा महतोले रनआउट हुनुपूर्व ४० बलमा २५ रन बनाइन् ।
त्यस्तै अलिशाकुमारी यादवले ९ बलमा अविजित रहँदै २० रन बनाइन् । नेपालले १८ रन अतिरिक्तका रुपमा पाएको थियो । भारतका लागि परुनिका सिसोदियाले ४ विकेट लिइन् ।
नेपाल र पाकिस्तानबीचको खेल
नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो । खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १०४ रन बनायो ।
ओपनर कोमल खानले ४२ बलमा ३८ तथा महम एन्नेसले ३९ बलमा २९ रन बनाइन् ।
नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचनाकुमारी चोधरी, रिया शर्मा तथा सीमना केसीले १–१ विकेट लिए ।
जवाफमा १०५ रनको सामान्य चुनौती नेपालले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।
नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् ।
त्यस्तै सोनी पाख्रिनले १३ तथा सीमना केसीले अविजित रहँदै १२ बलमा १२ रन बनाइन् ।
पूजा महतोको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप टी–२० क्रिकेटमा स्थान बनाएको छ ।
विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी–२० एसिया कपमा पनि स्थान बनाएको हो ।
भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको छ भने नेपाल भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको छ ।
अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । बंगलादेशले दुवै खेल जितेको छ भने श्रीलंका एक जितसहित सुपर फोरमा पुगेको छ । मलेसिया दुवै खेल हारेर बाहिरिएको छ ।
सुपर फोरका खेल
सुपर फोरमा नेपालले श्रीलंका र बंगलादेशसँग खेल्नेछ । अर्को समूहका टिमसँग एक एक खेल खेल्ने नियमानुसार नेपालले बिहीबार श्रीलंकासँग तथा शुक्रबार बंगलादेशसँग खेलिरहेको हो ।
भारतले पनि श्रीलंका र बंगलादेशसँग खेलिरहेको हो । पहिलो खेलमा भारतले बंगलादेशलाई पराजित गरेको छ ।
सुपर फोरको शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् ।