बुटवलको तिनाउमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २९ शनिबार
780
Shares
तस्बिर – फाइल ।
बुटवल । पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु२च २४८० नम्बरको बलेरो जीप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जीप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
गौरीलाई एक्कासी दम बढेपछि उपचारका लागि नयाँगाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जीप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
पुल पार गरिसकेपछिको मोडमा जीप दुर्घटनामा परेको उनले बताए । उक्त जीप बुटवल–१३ स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।