arrow

आफूले पढेको विद्यालयको भवन उद्घाटन गरे प्रधानमन्त्री ओलीले, कोरियाली सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २६ बुधबार
kp-oli-korean-ambassador.jpg

पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । तेह्रथुमको आठराई गाउँपालिका–४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले रिबन काटेर उद्घाटन गरेका हुन् । 

यस क्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरेका छन् । प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए । 
    
दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो । भवन निर्माणमा उक्त फाउण्डेसनले रु चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाख लगानी गरेका छन् । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो । 
    
प्रधानमन्त्री ओलीकै आग्रहमा युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए । 

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ