इजरेल-प्यालेस्टाइन युद्धमा सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै बाबुरामको असन्तुष्टि [भिडियो]
राष्ट्र सङ्घमा भएको मतदानमा नेपाल न्युट्रल बस्यो, हामी सत्य र न्यायको पक्षमा उभिन सक्दैनौँ भने मानव हुनुको के अर्थ
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २४ सोमबार
547
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले इजरेल-प्यालेस्टाइन युद्धबारे सरकारले आफ्नो धारणा स्पष्ट नपारेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार काठमाडौँको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरेली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले २१ औँ शताब्दीमा आएर अहिले इजरेलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको आरोप लगाए ।
उनले प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज आफूहरूले आवाज उठाएको बताए । उनले अहिले इजरेल राज्य वास्तवमा प्यालेस्टाइन राज्य भएको भन्दै सम्झौता गरेर दुई भागमा विभाजित गरेपछि पनि एक अर्कालाई नस्विकार्ने कुरा गम्भीर रहेको बताए । संयुक्त राष्ट्र सङ्घमा भएको मतदानमा नेपाल तटस्थ बस्नु गलत भएको र नेपालले सत्य र न्यायको पक्षमा मतदान गर्नुपर्ने बताए । उनले सत्य र न्यायको पक्षमा बोल्न नसक्ने कुराले मानव हुनुको अर्थ नराख्ने र नेपाली हुनुको अर्थ नहुने बताए ।
उनले भने, ‘२१ औँ शताब्दीमा आएर अहिले इजरेलले जसरी प्यालेस्टाइनमाथि नरसंहार मच्चाएको छ । अस्पतालमा बम वर्षाएको छ । स्कुलमा बम वर्षाएको छ । गाजा क्षेत्रमा त्यहाँका प्यालेस्टाइनी नागरिकहरूलाई नरसंहार गरेर त्यो क्षेत्र नै खालि गर्ने ढङ्गले अघि बढ्ने गरेर गएको छ । यति क्रूर नरसंहार २१ औँ शताब्दीमा हुनु सबैको निम्ति लज्जाको विषय हो । हामी थोरै भए पनि जिउँदा मान्छे नेपालमा अझै रहेछौँ । हामी सत्य र न्यायको पक्षमा बोल्न डराइरहेका छाँै । नेपाल राज्य शान्तिको पक्षमा सधैँ उभिँदै आएको छ । हामीले सधैँ प्यालेस्टाइनी जनताको मुक्तिको लागि आवाज उठाइरहेका छौँ । जहाँ अहिले इजरेल छ, त्यो वास्तवमा प्यालेस्टाइन हो । प्यालेस्टाइन जनताको आदिभूमि हो । त्यहाँ विभिन्न पुँजीवादी शक्तिका हर्कतहरुले यहुदी राज्य खडा गरियो, अर्काको जमिनमा लगेर इजरेल नाको देश खडा गरेर प्यालेस्टाइनीलाई बेदखाल गर्ने काम गरेका छन् । त्यो अन्यायपूर्ण छ । दुई राज्य बनाऔँ, यहुदीको लागि इजरायल र मुस्लिम र आदिवासीको लागि प्यालेस्टाइन भनेर दुई राज्य बनाउने जुन सहमति भएको थियो, त्यसको पालना गर्नुको साटो अब उल्टै प्यालेस्टाइनलाई नै मार्ने प्रयत्न भइरहेको छ, यो भन्दा निकृष्ट अपराध अरू केही हुन सक्दैन । त्यसको विरुद्धमा आवाज शुरुवात गरेका छौँ । यसमा दृढतापूर्वक उभिनुपर्छ । सरकार किन बोल्दैन । संयुक्त राष्ट्र सङ्घमा भएको मतदानमा नेपाल न्युट्रल बस्यो । हाम्रो सरकारको प्रतिनिधि मौन भएर बसे । हामी सत्य र न्यायको पक्षमा उभिन सक्दैनौँ भने मानव हुनुको के अर्थ हुन्छ, नेपाली हुनुको के अर्थ हुन्छ । त्यसैले म नेपाल सरकारलाई पनि गम्भीर हुन आग्रह गर्दछु ।’