arrow

राजनीतिक दलहरूले बीपीको विचार अनुशरण गरे तर आदर्श बिर्सिए [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ६ बुधबार
harihar-birahi-06-04.jpg

काठमाडौँ । वरिष्ठ पत्रकार तथा लोकतान्त्रिक आन्दोलनका अगुवा हरिहर विरहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ मत प्राप्त गरेकै आधारमा त्यसलाई बीपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसले प्राप्त गरेको दुई तिहाइसँग तुलना गर्न नमिल्ने बताएका छन्। उनका अनुसार दुवै समयको राजनीतिक परिवेश, मूल्य-मान्यता र जनमतको आधार नै फरक थियो।

विरहीले बीपीको समयमा राजनीतिक दलहरू स्पष्ट सिद्धान्त, नीति र विचारका आधारमा अघि बढेको स्मरण गर्दै अहिले रास्वपा भने आफ्नो नीति तथा सिद्धान्तलाई अझै संस्थागत गर्ने प्रक्रियामै रहेको बताए। उनका अनुसार रास्वपाले पहिलो महाधिवेशन नै निर्वाचनपछि आयोजना गरेर नीति निर्माण थालेको हो, त्यसैले अहिलेको जनमतलाई विचार र सिद्धान्तको मतभन्दा पनि नयाँ विकल्प खोज्ने जनआकांक्षाको परिणामका रूपमा बुझ्नुपर्ने हुन्छ।

उनले वर्तमान सरकारप्रति तत्काल निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए। लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारले केही समय र अवसर पाउनुपर्ने उनको धारणा छ। तर सरकारले गरेका प्रतिबद्धताअनुसार अपेक्षित गति र शैलीमा काम गर्न नसकेको उनको टिप्पणी छ। पुराना नियुक्ति खारेज गर्ने, प्रेसमाथि नियन्त्रण गर्ने प्रयास, संसद्प्रति उत्तरदायी नदेखिने र आलोचना सहन नसक्ने प्रवृत्तिले जनमतको दुरुपयोग हुने चिन्ता पैदा गरेको उनले बताए।

बीपी कोइरालाको उदाहरण दिँदै विरहीले लोकतन्त्रमा आलोचनाको सम्मान हुनुपर्नेमा जोड दिए। उनका अनुसार बीपीले आलोचनालाई गल्ती सच्याउने माध्यमका रूपमा लिएका थिए, तर अहिले आलोचना गर्नेहरूमाथि गाली र आक्रमण हुने प्रवृत्ति बढेको छ। यस्ता कतिपय सरकारी कदम संविधानविपरीत रहेको भन्दै अदालतले पटक–पटक सच्याएको उनले उल्लेख गरे।

संविधान संशोधन आवश्यक भए पनि त्यसका लागि विश्वासको वातावरण बन्न नसकेको विरहीको भनाइ छ। संविधानप्रति स्पष्ट प्रतिबद्धता नभएका शक्ति नेतृत्वमा पुगेको अवस्थामा संशोधन प्रक्रियाले प्रतिगमनतर्फ लैजान सक्ने आशंका स्वतन्त्र नागरिक र बौद्धिक समाजमा बढ्दै गएको उनले बताए। यद्यपि कांग्रेस, एमाले र अन्य दलहरूले संयमतापूर्वक व्यवहार गरिरहेको उनको भनाइ छ।

विरहीले सरकारले विकासका नाममा जनताका अधिकार खोस्ने कदम चाल्नेमा आफू विश्वस्त नरहेको बताए। इतिहासले जनभावनाविपरीत जाने शासन टिक्न नसक्ने शिक्षा दिएको उल्लेख गर्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, इमानदारी र अघिल्ला सरकारका सकारात्मक कामलाई निरन्तरता दिन सुझाव दिए। जनताको अधिकार खोस्ने कुनै पनि प्रयास सरकारकै लागि आत्मघाती हुने उनको चेतावनी थियो।

उनले सत्ता पक्षले अधिनायकवादी शैली अपनाउँदा लोकतन्त्र कमजोर हुने बताए। संसद् विघटन, प्रतिपक्षको आवाज बेवास्ता गर्ने, स्वतन्त्र मिडियालाई कमजोर पार्ने प्रयास विगतका सरकारहरूले पनि गरेको स्मरण गर्दै त्यस्ता कदम कहिल्यै सफल नभएको र वर्तमान सरकारले त्यसबाट पाठ सिक्नुपर्ने उनको भनाइ छ।

सरकार र मिडियाबीचको द्वन्द्व पुरानै विषय भएको उल्लेख गर्दै विरहीले स्वतन्त्र प्रेस लोकतन्त्रको आधार भएको बताए। निजी सञ्चारमाध्यमलाई असहयोग गर्ने वा नियन्त्रण गर्न खोज्ने नीति प्रेसविरोधी मात्र नभई जनताको आवाज दबाउने मानसिकताको अभिव्यक्ति भएको उनको धारणा छ।

बीपी कोइरालालाई उनले केवल राजनीतिक नेता नभई दूरदर्शी चिन्तक र प्रगतिशील समाज निर्माणका अभियन्ताका रूपमा चित्रण गरे। राष्ट्रलाई बलियो बनाउने, आर्थिक समानता स्थापना गर्ने, जनताको सर्वोच्चता र नागरिक स्वतन्त्रताको रक्षा गर्ने बीपीको दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए। बीपीको इमानदारी, नैतिकता र राजनीतिक निष्ठाको उदाहरण दिँदै गृहमन्त्री हुँदा विद्यार्थीको मृत्यु भएपछि राजीनामा दिएको र आफ्नै दाजु मातृकाप्रसाद कोइरालालाई पनि पार्टी नीति उल्लंघन गरेको भन्दै कारबाही गरेको प्रसंग उनले स्मरण गरे।

विरहीका अनुसार बीपीले परिकल्पना गरेका धेरै राजनीतिक परिवर्तन पूरा भएका छन्। संविधानसभा मार्फत संविधान निर्माण, जनताको सर्वोच्चताको स्थापना र समाजवादउन्मुख राज्यको अवधारणा त्यसकै उदाहरण हुन्। तर बीपीका विचारलाई सबै दलले स्वीकार गरे पनि उनको आदर्श र नैतिक मूल्य-मान्यतालाई भने व्यवहारमा उतार्न नसकेको उनको टिप्पणी छ।

उनले विशेषगरी नेपाली कांग्रेसमाथि आलोचना गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नारामै सीमित राखिएको आरोप लगाए। परिवर्तनलाई जनहितभन्दा पनि स्वार्थका लागि प्रयोग गरिएकाले जनतामा असन्तोष बढेको उनको भनाइ छ। बीपीमाथि विगतमा लागेका आरोप समयसँगै गलत सावित भए पनि अहिले लोकतान्त्रिक मूल्यको कार्यान्वयनमा कमजोरी देखिएको उनले बताए।

विरहीले अन्त्यमा विगतका कमजोरीबाट पाठ सिक्दै बीपी कोइरालाको विचार, मार्गदर्शन र नैतिक आदर्शलाई व्यवहारमा उतार्न सके सबै राजनीतिक दल र मुलुककै हित हुने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ