गढीमाई मेलामा आउने भक्तजनलाई शुद्ध एवं स्वच्छ खानेपानी
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २३ आइतबार
554
Shares
बारा । खानेपानीमन्त्री प्रदीप यादवले पञ्चवर्षीय गढीमाई मेलामा आउने श्रद्धालु भक्तजनलाई चौबिसै घण्टा शुद्ध एवं स्वच्छ खानेपानीसहित आधारभूत सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
पञ्चवर्षीय गढीमाई मेला बरियापुरमा आएका भक्तजनको सहजताका लागि खानेपानी संस्थान बारा कलैया शाखाद्वारा शुद्ध खानेपानी वितरणका लागि निर्माण गरिएका पानीट्याङ्कीको उद्घाटन गर्दै मन्त्री यादवले त्यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री यादवले भने, “गढीमाई मेलामा लाखौँ श्रद्धालु भक्तजन आउने भएकाले शुद्ध एवं स्वच्छ खानेपानी चौबिसै घण्टा वितरण गर्नुहोला, खानेपानी पाइन भन्ने भक्तजनको गुनासो सुन्न नपरोस्, उहाँहरू सेवाबाट वञ्चित हुनुहुँदैन ।”
खानेपानी संस्थान बारा कलैया शाखाले गढीमाई मेलामा आउने भक्तजनका लागि भन्दै दुई/दुई हजार लिटरका सातवटा शुद्ध खानेपानीका ट्याङ्की सात ठाउँमा राखी पानी वितरण कार्य सुरू गरेको सो शाखाका प्रमुख सञ्जीवकुमार यादवले जानकारी दिए ।
उनले भने, “हामीले सात ठाउँमा दुई/दुई हजार लिटरका सातवटा शुद्ध खानेपानीका ट्याङ्की राखेका छौँ, भक्तजनलाई चौबिसै घण्टा पानी वितरण गर्नका लागि टोलीसमेत खटाइएको छ ।”
पानी वितरणका लागि निर्माण गरिएका खानेपानीका ट्याङ्कीबाट मेला अवधिभर शुद्ध एवं स्वच्छ खानेपानी वितरण गरिने खानेपानी संस्थान बारा कलैया शाखाले जनाएको छ ।
संस्थानका अनुसार खानेपानी वितरण एवं अनुगमनका लागि संस्थान प्रमुखसहित तीनजना कर्मचारी दैनिक रूपमा खटिने भएका छन् ।