उपनिर्वाचनको परिणामलाई हामीले उत्साहका रूपमा लिएका छौँ - विश्वप्रकाश शर्मा [भिडियो]
गठबन्धन नगरीकन प्राप्त भएको १९ सिट विशेष रूपले महत्त्वपूर्ण
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
866
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह उपनिर्वाचनको नतिजालाई सकारात्मक रूपमा लिएको बताएका छन्। महामन्त्री शर्माले उपनिर्वाचन परिणामलाई पार्टीले उत्साहका रूपमा लिएको बताए । उनले लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि मतदाताको उत्साहजनक सहभागिता, राजनीतिक दलहरूले पाएको मत, प्रणालीप्रति जनताका विश्वास र यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरूलाई घचघच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रूपमा बुझेको बताए ।
पार्टीले उपनिर्वाचनको प्रारम्भिक समीक्षा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उनले उपनिर्वाचन भएका प्रत्येक वडा र पालिकामा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अङ्कगणित के रह्यो ? भन्ने विषयमा पार्टी सचिवालय गम्भीर समीक्षामा लागेको बताए । उपनिर्वाचन भएका ४४ स्थानमध्ये १९ स्थानको नतिजा आफ्नो पक्षमा आएको उल्लेख गर्दै उनले एक्लै लडेर प्राप्त गरेको गुणात्मक मत अझै महत्त्वपूर्ण भएको बताए ।
उनले भने, ‘स्थानीय तहको उपनिर्वाचनको परिणामले स्वाभाविक रूपमा अगामी दिनहरूको लागि समीक्षा र विश्लेषण गर्ने रूपले महत्त्वपूर्ण छ । नेपाली कांग्रेसले हरेक चुनावलाई महत्वका साथ लिन्छ । कुनै पनि चुनावमा आफ्नो पार्टीको तर्फबाट लाग्ने एफोर्ट दिन्छ । कुनै पनि चुनावलाई खेलाँचीको रूपमा लिँदैन । पार्टीले उपनिर्वाचको तयारीका लागि मलाई जिम्मेवारी दिएपछि हामी तिहारपछि तयारीमा लागेका थियौँ । पार्टीका सबै साथीहरू सम्भव भएसम्म सबै जुट्नुभयो । अहिले परिणाम आइसकेपछि हामी प्रारम्भिक समीक्षा धारण पनि प्रस्तुत गरिरहेका छौँ । प्रत्येक वडा र पालिकामा गम्भीर रूपमा अगाडिको निर्वाचन र पछिल्लो निर्वाचनको अङ्कगणित के रह्यो ? उपलब्धि हुँदै गर्दा कसरी भयो ? गुम्दै गर्दा कसरी गुम्यो ? भन्ने कुरा हामो सचिवालयले तथ्यांकसहित सबै तयारी गरिरहेकै छ । अहिले प्रारम्भिक रूपमा भनिरहँदा लोकतान्त्रिक प्रक्रियामा उपनिर्वाचन हुँदा पनि यो प्रक्रियामा मतदाताको उत्साहजनक सहभागिता र मुख्य राजनीतिक दलहरूले पाएको मत, प्रणालीप्रतिको विश्वास, यही प्रणालीबाट समुन्नतिको बाटोमा हिँड्नुपर्छ भनेर राजनीतिक दलहरूलाई घचघच्याएको जनादेशलाई पुनर्ताजगी गरेको रूपमा हामीले बुझेका छौँ । नेपाली कांग्रेस पार्टीले अहिलेको चुनावमा कहाँ कमजोरी भयो त्यसको पनि समीक्षा गर्दै छ । के उपलब्धि भयो ? त्यसलाई पनि विश्लेषण गर्दै छ । उपनिर्वाचन परिणामलाई हामीले उत्साहका रूपमा लिएका छौँ । सकारात्मक रूपमा लिएका छौँ । यदि गणितीय हिसाबमा जाने हो भने नेपाली कांग्रेसले ४४ स्थानमध्ये २७ वटा स्थानमा निर्वाचित भएको थियो । अहिले १९ ठाउँमा विजयी भयो । गणितीय व्याख्या गर्दा कम विजयी भएको देखिन्छ । ४४ स्थानमा १९ स्थान भनेको ४३ प्रतिशत जितेको अवस्था हो । त्यसका बाबजुद पनि नेपाली कांग्रेसले तत्कालीन चुनावको परिस्थिति, मनोविज्ञान, त्यस बेलाका समीकरण र अहिलेको परिस्थिति, मनस्थिति र समीकरणलाई हेर्ने हो भने गुणात्मक रूपले यो महत्त्वपूर्ण छ । गत निर्वाचनमा हामी कहीँ माओवादीसँग गठबन्धन गरेर लडेका थियौँ, कहीँ नेकपा एकीकृत समाजवादीसँग हाम्रो समीकरण थियो । गठबन्धन गरेर प्राप्त गरेको २७ वटा सिटभन्दा गठबन्धन नगरीकन प्राप्त भएको १९ सिट विशेष रूपले महत्त्वपूर्ण छ ।’
महामन्त्री शर्माले पार्टीको महासमिति बैठकबाट एक्लै चुनाव लड्ने प्रस्ताव पारित गरेको भए पनि केही ठाउँहरूमा आत्मीयताका आधारमा मिलेर जानु स्वाभाविक भएको बताए ।