लमजुङ । पाँच सय रुपैंया बाजी राखेर मस्र्याङ्दी तर्न खोज्ने राजु घिमिरे वेपत्ता भएका छन् । लमजुङ जिल्ला बेँसीसहर नगरपालिका–७ का ४० वर्षे घिमिरे नदी पार गर्नेक्रममा बेपत्ता भएका हुन् ।
आइतबार बिहान स्थानीय पद्म घिमिरे र राजु घिमिरेले पौडिएर नदी पार गर्ने विषयमा बाजी लगाएका थिए । उनीहरुले नदी पार गर्नेले ५०० पाउने र नदी पार गर्न नसक्नेले ५०० दिने भन्दै बाजी लगाएका बताइएको छ ।
बाजी बमोजिम राजु मस्र्याङ्दीमा पौडिन पसे । नदीको बीचसम्म पौडिएका घिमिरे त्यसपछि पौडिन नसकेपछि वेपत्ता भए । राजु नदी पार गर्न नसकी बेपत्ता भएपछि उनका साथी पद्म घिमिरेले प्रहरीलाई राजु नदीमा बेपत्ता भएको जानकारी गराए ।
बेपत्ता घिमिरेको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिए । सोधपुछ गर्दा दुवै जना बिहानैदेखि मदिरा सेवन गरी बसेको र नदी पार गर्ने विषयमा दुईजनाबीच बाजी परेको बुझिएको प्रहरीले जनाएको छ । घिमिरे स्थानीय विद्यालयमा पढाउने शिक्षक समेत हुन् । रासस