डाक्नेश्वरीमा आचारसंहिताको ख्याल नराखी प्रमुख मलाह कर्मचारी भर्ना गर्ने दाउमा
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
653
Shares
राजविराज । पटक–पटक कानून विपरीत काम गर्दै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले निर्वचन आचारसंहितासँग पनि खेल्न खोजेका छन् । नगरपालिकामा स्थानीय तहको उप निर्वाचन हुँदैछ ।
वडा नम्बर १ र ४ मा अध्यक्ष पदका लागि भइरहेको निर्वाचनका निम्ति २ मंसिरदेखि नै यो पालिकामा आचारसंहिता लागू भइसकेको छ । तर प्रमुख मलाहले त्यसलाई वेवास्ता गर्दै विज्ञापन आह्वान गरेका छन् ।
आचारसंहिता लागू भएकै मितिमा यो नगरपालिकामा रोजगार संयोजक (अधिकृत स्तर छैटौँ) र रोजगार सहायक (सहायक स्तर पाँचौं) को विज्ञापन आह्वान गरेको पाइएको छ ।
२२ चैत २०८० मा विभिन्न पदका लागि गरिएको पदपूर्ति सम्बन्धी सूचना अनुसार र २१ कात्तिक २०८१ गतेको नगर कार्यपालिकाको निर्णय अनुसार विज्ञापनहरुको पुनः विज्ञापन गर्ने निर्णय भएकाले यसअघि गरिएको विज्ञापन रद्द गरी पुनः विज्ञापन गरिएको विज्ञापनमा जनाइएको छ ।
‘यसअघि विज्ञापनमा दरखास्त फारम पेश गरेका उम्मेदबारहरुलाई पनि सामेल गराई थप दरखास्त फारम संकलन गर्नका लागि पुनः १५ दिने सूचना प्रकाशित गरिएको छ’ विज्ञापनमा भनिएको छ, ‘साथै माग गरिएका विवरणहरु र राजस्व तिरेको रसीदसहित यस कार्यालयमा निवेदन दिनु हुन अनुरोध छ ।’
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा विज्ञापन आह्वान गर्नु आचारसंहिता विपरीत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमेशकुमार जोशी बताउँछन् ।
आचारसंहिता उल्लंघन गरेको पाइएको जानकारी गराउँदा नगरपालिकाले तत्कालै विज्ञापन स्थगित गरेको उनले बताए । जोशीले आचारसंहिताको पालना गर्नु सबैको कर्तव्य भएको बताए ।
विज्ञापनमा चलखेलः चैतदेखि लगातार प्रयास
यो नगरपालिकाले २२ चैत २०८० मा रोजगार संयोजक, रोजगार सहायक, लघु उद्यम सहजकर्ता र कृषि प्राविधिक पदमा करार सेवामा भर्नाका लागि १५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्न भन्दै विज्ञापन आह्वान गरेको थियो ।
विज्ञापनको समय अनुसार दरखास्त फारम भर्ने मिति ६ बैशाख २०८१ मा समाप्त भएको थियो । यसपछि ६ जेठ २०८१ मा उम्मेदवारहरुको सर्ट लिस्टसमेत नगरपालिकाको वेभसाइट मार्फत नै सार्वजनिक गरिएको थियो । र, उनीहरुको लिखित परीक्षाका लागि १७ जेठदेखि १३ असारसम्मको मिति तोकिएको थियो ।
यो नामावली सार्वजनिक भए लगत्तै प्रमुख मलाह र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आर्थिक चलखेल गरेको आरोप लाग्दा १३ असारमा कार्यपालिकाको बैठकले ती सबै विज्ञापन स्थगित गरेको थियो ।
सोही विज्ञापनलाई आचारसंहिताको समेत ख्याल नगरी प्रमुख मलाह र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले पुनः आह्वान गरेका छन् ।
श्रोतका अनुसार यी दुवैले आर्थिक चलखेल गरी उम्मेदवार छनोट गरेका थिए । यो कुरा बाहिरिएपछि स्थगित गरेका थिए । त्यसबेला नाम सार्वजनिक भएका व्यक्तिका नजिकलाई छनोट गर्न यी दुवैले प्रयास गरिरहेको श्रोतको भनाइछ ।
अहिले यो नगरपालिकाको दुई वडामा उप निर्वाचन हुँदैछ । राजनीतिक दलका नेताहरु यो बीचमा निर्वाचनमा व्यस्त हुने भएको मौका छोपी प्रमुख मलाह र हाकिम यादवले विज्ञापन निकालेर काम पूरा गर्न कसरत शुरु गरेका थिए । तर निर्वाचन कार्यालयले पत्र पठाएपछि उनको खेल पुनः रोकिएको हो ।