यसरी भयो पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन
कुमोद अधिकारी,
प्रकाशित २०७३ पुष ८ शुक्रबार
1.5k
Shares
विराटनगर। पुर्वाञ्चलमा आजदेखी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७३ विधिवत रुपमा शुरु भएको छ। विराटनगरको शहिद रंगशालामा राष्ट्रपती विद्यादेवी भण्डारीले एक कार्यक्रमकोबीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गरिन्। उद्घाटनपछि बाजागाजाका साथ प्रतियोगिता विधिवत रुपमा शुरु भएको घोषणा गरिएको थियो। प्रतियोगिता उद्घाटन समारोहमा विभिन्न जाति संघसंस्थाहरुले आफनो संस्कृति झल्कने खालका झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए। हजारौ सहभागीकाबीच भएको विभिन्न समुदायको झाँकी र नृत्यले रंगशालाको माहोल नै फरक बनाईदिएको थियो।
यसैगरी उद्घाटन कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी तथा सशत्र प्रहरीले विभिन्न कवाज प्रस्तुत गरेका थिए। उदघाटन समारोहलाई सम्वोधन गर्दै राष्ट्रपती भण्डारीले खेलकुदले व्यक्ति र समाजको विकासमा ठु्लो सहयोग पुग्ने बताईन्। खेलकुद क्षेत्रको विकासमा सरकारको लगानी आवश्यक रहेको उनको भनाई थियो।
उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै युवा तथा खेलकुदमन्त्री दलजित श्रिपालीले सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुद क्षेत्रमा नयाँ इतिहास रचेको बताए। कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव महेश प्रसाद दाहाल तथा राष्टिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले पूर्वाञ्चलको गौरवको रुपमा रहेको यो प्रतियोगितालाई सफल बनाउन सबैसँग आग्रह गरे । प्रतियोगिता विभिन्न ३५ वटा खेल समावेश छन।
प्रतियोगितामा समावेश भएका २७ खेलहरु पूर्वाञ्चलको मोरङ , झापा, सुनसरी, सिराहा, सप्तरी, धनकुटा र उदयपुर जिल्लामा खेलाइनेछ। प्रतियोगितामा ३९ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको छ। प्रतियोगिताको समापन समारोह पुष १५ गते धरानमा हुनेछ । समापन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागिता रहने आयोजक समितिले जनाएको छ। प्रतियोगितामा स्वर्ण रजत र कास्यगरी १ हजार ३५ वटा पदकका लागी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन।