arrow

संविधान संशोधन प्रस्ताव पारित हुन्छ : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
prachanda-tension.jpg.jpeg

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन् । मधेसी, थारु, जनजातिलाई हेपेर संविधान कार्यान्वयन गर्न सकिदैन्, गोरखाको मुच्चोकमा निर्माण भएको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको आज यहाँ उद्घाटन गर्दै उनले भने, “यो संविधान सबैको संविधान बनाउनका लागि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।”

प्रधानमन्त्री दाहालले काँग्रेसका तत्कालीन सभापति स्व सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै तराईका जिल्ला समेटेर– ५ नम्बर प्रदेश निर्माण गर्न लागिएको बताउँदै “काँग्रेस र एमालेकै प्रस्तावअनुसार अहिले मैले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशको प्रस्ताव ल्याएको हुँ भने ।”

प्रतिपक्षमा रहेको नेकपा एमालेले संशोधन संशोधन प्रस्तावको विरोध गर्न पाउँछ भन्दै उहाँले संसद् अवरुद्ध गरेर कोही पनि राष्ट्रवादी नहुने बताए ।

प्रधानमन्त्री दाहालले अवरुद्ध संसद् खुलाउनेबारे छलफल भइरहेको बताउँदै निर्वाचन सम्बन्धी विद्येयक, अख्तियारका पूर्वप्रमुखको महाअभियोगबारे छलफललगायत महत्वपूर्ण काम संसद् अवरुद्ध हुँदा अघि बढाउन नपाएकोमा दुःख व्यक्त गरे ।

“राष्ट्रवादको पक्षमा छौँ भन्ने अनि संसद् अवरोध गर्ने ? यो कहीँ कतै केही मिलेन’, भन्दै उहाँले चित्त नबुझेका कुरा संसद्मा राख्न एमालेलाई आग्रह गरे।

प्रधानमन्त्री दाहालले ‘संविधान संशोधन प्रस्ताव फेल गराएर देखाउनुहोस्’ एमालेलाई चुनौती दिँदै “फेल गराउन सक्नुहुन्न भने प्याकेजमै सहमति गरौं । प्रक्रियागत रुपमा सहमति गरौँ देशलाई निकासको बाटोमा लैजाऔँ,’ मधेसी, थारु, जनजातिलगायत सबैको संविधान बनाउन संविधान संशोधनको आवश्यकता परेको उनले बताए।

प्रधानमन्त्रीले चुहावट रोक्दा र प्रविधिमा सुधार ल्याउँदा काठमाडौँमा लोडसेडिङमुक्त गर्न सकिएको भन्दै ऊर्जामन्त्रालय र ऊर्जामन्त्रीलाई धन्यबाद दिएका छन्  । स्वदेशी लगानीमा समयमै ‘कालीका पावर’ले आयोजना बनाएको भन्दै उहाँले देशमा लगानीको वातावरण बन्दै गएको बताए ।

प्रधानमन्त्री दाहालले भच्चेकमा सव– स्टेसन बनाउन निर्देशन दिदै बूढीगण्डकी आयोजनाबाट प्रभावितलाई छिट्टै मुआब्जा वितरण सुरु हुने पनि बताए । भूकम्पपछिको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै उहाँले भन्नुभयो, “राहत, अनुदान पाउनबाट छुटेका भूकम्पपीडितलाई सम्बोधन गरिन्छ ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिदैं जनताको साथ लिएर थप परिवर्तन र विकास गर्ने बताए।

ऊर्जामन्त्री जनाद्र्धन शर्माले देशलाई समृद्ध बनाउन ऊर्जा क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने बताउँदै जलविद्युत् आयोजना निर्माणमा जनताले ३० प्रतिशत सेयर राख्न पाउँछ भने।

गोरखालगायत देशभरलाई लोडसेडिङमुक्त बनाउन सरकार लागिपरेको बताउँदै उहाँले गोरखामा विद्युतीकरण गर्न र लोडसेडिङ मुक्त गोरखा बनाउनका लागि आवश्यक बजेटसहितको कार्ययोजना १५ दिनभित्र मन्त्रालयमा पेस गर्न नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रलाई निर्देशन पनि दिए।

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले गोरखा लोडसेडिङमुक्त बनाउने अभियानलाई सघाउन आफूले निर्वाचन क्षेत्र विकास कोषको रु तीन करोड गोरखा क्षेत्र नं– २ को विद्युतीकरणमा खर्च गर्ने गरी बजेट बाँडफाँड गरिसकेको जानकारी दिए ।

पालुङटार, छेपेटार, च्याङ्लीटारलगायत सुख्खाटारमा दरौँदीको पानीले सिँचाइ गर्न आवश्यक बजेटका लागि उहाँले प्रधानमन्त्रीको ध्यानकर्षण गराए । ‘कालीका हाइड्रोपावर’ कम्पनीले करिब रु एक अर्ब ३० करोडको लगानी गरी मुच्चोकमा ६ मेगावाट क्षमताको दरौँदी  ‘ए’ जलविद्युत् आयोजना निर्माण गरेको हो । योजनाबाट उत्पादन भएको विद्युत् गोरखास्थित सव–स्टेसनमा जडान गरिसकिएको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ