विराटनगर । लामो समयको प्रयासपछि पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । हरेक दुई वर्षमा हुने भनिए पनि सुदूरपश्चिममा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भएको पाँच वर्षपछिमात्र सातौं राष्ट्रिय खेलकुद हुन लागेको हो ।
उदघाटन सत्र मोरङको विराटनगरमा भब्यताका साथ हुँदैछ । दिउँसो ३ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उदघाटन गर्ने कार्यक्रम छ । राष्ट्रपतिको आगमन हुने भएपछि सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
विराटनगरको शहीद रंगशालामा हुने उद्घाटन समारोह साढे दुई घण्टा चल्ने समारोह उपसमितिका सचिव कुलबहादुर थापाले हाम्राकुरालाई जानकारी दिएका छन् । सो अवधिमा पूर्वाञ्चलले आफ्नो बलबुँताले भ्याएसम्म कला र कौशल प्रस्तुत गर्नेछ ।
के के हुँदैछ ?
१, आठै टिम अर्थात् तीन विभागीय तथा पाँच विकास क्षेत्रका पाँच गरी आठ टिमले मार्चपास गर्नेछन् ।
२, पूर्वाञ्चलका २४ जनजातिले झाँकीसहितको सांस्कृतिक प्रस्तुति दिनेछन् ।
३, पूर्वाञ्चलका कलाकारले राष्ट्रिय ओतप्रोतले भरिएका गीत, संगीत प्रस्तुत गर्नेछन् ।
४, विभिन्न समूहको तीस वटा नृत्य प्रस्तुत हुनेछन् ।
५, ब्याण्ड डिस्प्ले हुनेछ ।
६, सेनाले तेक्वान्दो ड्रिल प्रस्तुत गर्नेछ ।
७, बिहान १० बजे धरानबाट हिंडेको सात पूर्वाञ्चलका ओलम्पियनले लिएर आएको ओलम्पिक टर्च हस्तान्तरण गरिने छ । सन् १९८० को ओलम्पिकमा सहभागीता जनाएका नरेन्द्र पोमासहित सन् १९८४ मा सहभागी भएका अर्जुन पंडित, टीकाराम श्रेष्ठ लगायतले टर्चमा भाग लिएका छन् ।
कति पदकका लागि हुँदैछ भिडन्त –
९५२ पदकका लागि ३९७२ खेलाडी सातौँ राष्ट्रिय खेलकुदमा नौ सय ५२ पदकका लागि तीन तीन हजार नौ सय ७२ खेलाडीबीच प्रतिस्पर्धा हुने भएको छ । जसमा दुई सय ६८ स्वर्ण पदक हुनेछन् । रजत पदकको संख्या पनि स्वर्ण जति नै हुनेछ । सातौँमा चार सय ४७ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।
सातौँ खेलकुदमा २९ सय १४ खेलाडीले छनोट चरण पार गरेर आएका छन् । एक हजार ५८ खेलाडी भने खुला रूपमा छानिएका छन् । सातौँमा खेलाडी, निर्णायक, प्रशिक्षक, व्यस्थापक र संघ प्रतिनिधि गरी पाँच हजार आठ सय ४९ जनाले प्रत्यक्ष रूपमा भाग लिनेछन् ।
सातौँ खेलकुद आयोजनाको मिति तोके पनि यसअघि तीनपटक स्थगित भएको थियो ।