'लोकमान' मुद्दाको सुनुवाई सुरु, पहिलो दिन क–कसले गरे बहस ?
एक साताभित्रै फैसला हुने
प्रकाशित २०७३ पुष ७ बिहिबार
1k
Shares
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यताबारेको मुद्दामा सर्वोच्चले सुनुवाई सुरू गरेको छ । विहिबार न्यायाधीशत्रय ईश्वर प्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले सुनुवाई सुरू गरेको हो ।
मंसिर १६ को पेशी न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वर प्रसाद खतिवडा र आन्दन्दमोहन भट्टराईको पूर्ण इजलासमा परेको थियो । यस पटक पौडेलको ठाउँमा न्यायाधीश सिंन्हा परेको अदालतले जनाएको छ । बहस आरम्भ आफैले गरेका रिट निवेदक ओमप्रकाश अर्यालले विभिन्न कारणले लोकमान अयोग्य भएको जिकिर गरे ।
विहिबारको बहस सकिएपछि हाम्राकुरासँग अर्यालले भने, ‘बहस आरम्भ मैले नै गरे । महित हाम्रो पक्षबाट १२ जनाले बहस गरेका थियौं ।’ बहसका क्रममा अर्यालले लोकमानको योग्यता पनि नपुग्ने र उच्च नेतृत्व तह पनि नभएकाले कार्कीको नियुक्ति बदर गर्न माग गरे ।
यस्तै, बरिष्ठ अधिवक्ता सम्भु थापा, सुरेन्द्र भण्डारी, रवि खनाल, सुनील पोख्रेल, विजय मिश्र, टिकाराम भट्टराई, रमेश बडाल, चन्द्रकान्त ज्ञवाली, गोविन्द बन्दीलगायतले बहस गरे । अधिवक्ता रमेश बडालले लोकमानको बीस वर्षे योग्यता नपुग्ने जिकिर गरे । सुरेन्द्र भण्डारीले लोकमानसिंह कार्की उच्च नैतिक चरित्रको परिभाषाभित्र नपर्ने ठोकुवा गरे ।
कार्कीको पक्षबाट शुक्रबार मात्रै बहस हुने अभियोजनकर्ता अर्यालले बताए । सरकारी वकिलको तर्फबाट सह–महान्यायाधिवक्ता किरण पौडेलले बहस गरे । अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ती संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए । सर्वोच्चले सुरूमा अर्यालको रिट खारेज गरेको थियो । पछि प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको बेन्चले पहिलेको सुनुवाईलाई पुनरावलोकन गर्दै सुनुवाईप्रक्रियामा लगेको हो ।
गएको मंसिर १६ का लागि तोकेको पेशी कार्की पक्षधर अधिवक्ता बालकृष्ण न्यौपानेले उपस्थित हुन नसक्ने भन्दै स्थगनको निवेदन दिएका थिए । न्यायाधीशहरूले फेरि यो मुद्दामा सुनुवाई स्थगित गर्न नमिल्ने भनेपछि एक पटकलाई कार्की पक्षको अनुरोध मानेको थियो । न्यायाधीशहरुले यो मुद्दाको फैसला एक साताभित्रै हुने बताएका छन् ।