आदिवासी जनजाति महाधिवेशन : नेतृत्वमा काँग्रेस–एमालेको भिडन्त
माओवादीको साथ काँग्रेस निकट उम्मेद्वारलाई
प्रकाशित २०७३ पुष ५ मंगलबार
1.5k
Shares
चितवन । चितवनको नारायणगढमा जारी नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया अझै सुरु हुन सकेको छैन । महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएपनि विधान पारित हुन ढिलाई भएकोले निर्वाचन प्रक्रिया सुरु हुन नसकेको निर्वाचन अधिकृत कुनसाङ लामाले जानकारी दिए ।
महासंघको नयाँ नेतृत्वका लागि दुई जनाको उम्मेद्वारी पर्ने र संसदको दुई ठूला पार्टी काँग्रेस र एमालेको प्रतिस्पर्धा हुने बताइएको छ । अध्यक्षका लागि काँग्रेसबाट कोषाध्यक्ष जगत बराम र एमालेबाट उपाध्यक्ष सूर्य भुजेलले उम्मेद्वारी दिने तयारी गरेका छन् । उम्मेद्वारी दर्ताको तयारी भएपनि अझै हुन सकेको छैन ।
काँग्रेस निकट जगत बरामलाई माओवादीबाट अध्यक्षको उम्मेद्वारी दिने तयारीमा रहेका नित्यानन्द ताजपुरियाले सघाउने भएका छन् । ताजपुरिया अब जगत बरामको समूहको महासचिव बन्ने सहमति भएको छ । ताजपुरियालाई संघीय समाजवादी फोरमलगायत साना दल निकटका प्रतिनिधिहरुको समर्थन थियो ।
नयाँ नेतृत्व चुन्ज ५६ मतदाता छन् । ताजपुरिया बराम समूहमा आएपछि जित्ने लगभग पक्का पक्की भएको बताइँदैछ । पार्टी नेतृत्वकै दबाब आएपछि ढिलोगरी भएको बन्द सत्रमा सोमबार महासचिव पेम्बा भोटे र कोषाध्यक्ष जगत बरामको सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित भएको थियो ।