रेडक्रसबाट राजीनामा नदिइकनै मलेसियाको राजदूतमा तिम्सिना
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
694
Shares
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) का केन्द्रीय कार्यसमिति अध्यक्ष नेत्रप्रसाद तिम्सिना रेडक्रसबाट राजीनामा नदिइकनै राजदूत अनुमोदित भएको खुलेको छ ।
कुनै पनि देशको राजदूतका लागि सिफारिस भएपछि तत्काल आफूले निभाउँदै आएको भूमिकाबाट राजीनामा दिनुपर्नेमा अध्यक्ष तिम्सिनाले अहिलेसम्म राजीनामा नै स्वीकृत नगराएको रेडक्रसले जनाएको हो ।
रेडक्रसले गत असोज १३ गते पत्र काट्दै वरबुझारथ गर्न अनुरोधसमेत गरेको छ ।
नेरेसोले तिम्सिनालाई लेखेको पत्रमा भनेको छ, ‘तपाईंले नेरेसो केन्द्रीय कार्यसमितिको अध्यक्ष पदबाट दिनुभएको राजीनामा उपाध्यक्षबाट स्वीकृत गरेको पत्र सामाजिक सञ्जालमार्फत देखिएको हुनाले अध्यक्षको राजीनामा नेरेरोको विधान २०२० (सत्रौँ संशोधन २०७५) को दफा ५५ को ख १ बमोजिम कार्यसमितिमा पेश भई बैठकले स्वीकृत गर्नुपर्ने वैधानिक व्यवस्था रहेकोमा सो नगरेको हुँदा तपाईंले राजीनामा केन्द्रीय कार्यसमितिमा पेश गर्नुहुन र तपाईको जिम्मामा रहेका संस्थाको छाप, लेटरप्याड, बैठक पुस्तिका साथै अन्य कागजातहरु–सामग्रीहरु विधानको दफा ५९ अनुसार वरबुझारथ गर्नको लागि कार्यसमितिको ३२७ औँ बैठकमा निर्णय भएको हुनाले जानकारीसहित वरबुझारथ गर्नुहुन सादर अनुरोध छ ।’
महामन्त्री दिपेन्द्रराज ढकालले लेखेको पत्रमा गृहमन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद, जिल्ला प्रशासन कार्यालय र संगठन विकास विभागलाई बोधार्थ गरिएको छ ।