चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले कुनै न कुनै रुपले सङ्घीयतालाई खारेज गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री दाहालले वर्तमान सरकारले चालेको कदमलाई साथ नदिए देशमा ठूलो राजनीतिक दुर्घटना हुने खतरा रहेको बताए ।
सङ्घीयताले देश टुक्राउँछ, सङ्घीयताले जनताको बीचमा फाटो पार्छ भन्ने एउटा पुरानो एकात्मक सामन्ती सिद्धान्तलाई सिरानीमा राखेर यो परिवर्तनको मुद्दालाई उल्ट्याउने कोसिस भइरहेको दाहालले बताए । अपिल गर्दै दाहालले भने, ‘सङ्घीयता खारेज गर्नुपर्दछ, यो जनजाति, मधेसी, दलितका लागि हो भन्ने हल्ला भइरहेको छ । मैले धेरै भनिरहनु पर्दैन, त्यो कोसिस भइरहेको छ ।’
प्रधानमन्त्री दाहालले थपे, ‘सङ्घीयता खारेज गर्ने प्रयत्न ठूलै पार्टीका ठूलै नेताले खुलेआम भन्न थालेका छन् ।’ आजभोलि मिडियामा समेत सङ्घीयता नै खारेज गरिदियो भने त खेलै खत्तम भन्ने प्रचारसमेत उनीहरुबाट हुन थालेको सुनाए । दाहालले भने, ‘सङ्घीयताको विरोध गर्नु गणतन्त्रको विरोध हो, गणतन्त्रको विरोध गर्नु धर्मनिरपेक्षताको विरोध हो, धर्मनिरपेक्षताको विरोध गर्नु समानुपातिक समावेशी मान्यताको पनि विरोध हो, त्यसैले हामी सचेत बनौँ ।’
प्रधानमन्त्री दाहालले यो देश एउटा कुनै जाति विशेषको पेवा, उपल्लो वर्गको ठेकेदारी मात्रै होइन भन्दै सबै जातजाति, संस्कृति, धर्मको साझा देश भएको बताए । संविधानले मधेसी, आदिवासी जनजाति, थारुलगायतका भावना र आकाङ्क्षा सम्बोधन गर्न नसकेको बताउँदै दाहालले संविधानलाई साझा बनाउन संशोधन र परिमार्जन आवश्यक भएको उल्लेख गरे ।
संविधान जारी भएको समयमा नै आफूले साझा दस्तावेजका रुपमा संविधान बनाउनका लागि परिमार्जन र संशोधन गर्नुपर्ने कुरा राखेको प्रधानमन्त्री दाहालले बताए । त्यसैका लागि अहिले संविधान संशोधन प्रक्रिया अगाडि बढेको भन्दै उहाँले संशोधनसँगै सबैको माग पूरा भएर जाने पनि दाहालले सुनाए ।
जनजातिका लागि आफू १० वर्षसम्म लडेको भन्दै दाहालले अहिले संविधान कार्यान्वयन गर्न निकै चुनौती झेल्नुपरेको बताए । दाहालले भने, ‘जसका लागि म लडेँ, उनीहरुको अधिकार स्थापित गराएरै छाड्छु ।’ शोषण र उत्पीडनमा परेका जाति, जनजातिको पक्षमा संविधान संशोधन गराएर अधिकार प्रत्याभूति गराउने पंधानमन्त्री दाहालले बताए ।
संविधान संशोधनमार्फत सबैको अधिकार संविधानमा प्रत्याभूत गराएर छिट्टै निर्वाचनको मिति घोषणा गर्ने उहाँले बताउनुभयो । दाहालले भने, ‘आदिवासी, मधेसी, थारुहरुको पक्षमा संविधान संशोधन गर्दै राष्ट्रिय एकता कायम गरेर मात्रै निर्वाचनमा जानुपर्छ ।’
सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीताविरुद्ध टाउको उठाउन नदिन विगतमा झैँ जनजातिको सहयोग अहिले पनि जरुरी रहेको दाहालले बताए । दाहालले भने, –‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अप्ठ्यारोमा पार्ने काम भइरहेको छ । तपार्इंहरुको सहयोग जरुरी छ ।’ यो उपलब्धिलाई उल्ट्याउने र सामन्ती तन्त्र ल्याउने दुस्साहस र दिवास्वप्न नदेख्न चुनौती दिँदै दाहालले भने, ‘अब मुलुक २०४७ सालतिर होइन २०७४ सालतिरै फर्किन्छ ।’