हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल कुलेखानी तेस्रो आयोजनाको सुरुङभित्र पसकेका छन् । निरीक्षणका क्रममा प्रधानमन्त्री दाहाल मकवानपुरको भैसे गाविस–६ कमलमत्तामा निर्माणाधिन कुलेखानी तेस्रो आयोजना सुरुङभित्र छिरेका हुन् । केही दिन अघिमात्रै प्रधानमन्त्री दाहाल दार्चुलामा निर्माणधीन चमेलिया जलविद्युत आयोजनाको सुरुङभित्र छिरेका थिए ।
प्रधानमन्त्री दाहालले विद्युत् गृह जलाशय मार्ग र टर्वाइनको निरीक्षण गर्दै पारदर्शी र गुणस्तरीय रुपमा तोकिएको समयमै काम पुरा गर्न सम्बन्धित आयोजनाका प्रमुखलाई निर्देशन समेत दिए । प्रधानमन्त्री दाहालले आयोजनाका प्रमुखले छिटोछरितो ढङ्गबाट सरकारले उपलब्ध गराएको स्रोत साधनलाई परिचालन गरी कार्य सम्पन्न गर्नुपर्छ भने ।
दाहालले जनताले छिटै आयोजनाको उपलब्धि चाहेकाले विकास आयोजनाका पदाधिकारीले ढिलासुस्ती र अवरोध हुने समस्यालाई तत्कालै निराकरण गरी अघि बढ्न आग्रह गर्दै सरकारले ती आयोजना निर्माणका लागि आवश्यक बजेट र प्राविधिक उपलब्ध गराउन सरकार कटिवद्ध रहेको बताए ।
प्रधानमन्त्री दाहालले कुलेखानी तेस्रो आयोजनाको निर्माणकार्य गर्ने चिनियाँ ठेकेदारले ढिलासुस्ती गरेकाले ती आयोजना छिटै सम्पन्न गराउन नेपाल सरकारले चिनियाँ सरकारसँग पहल गर्ने बताए । कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवास मिश्रले सो आयोजनाको निर्माणकार्य सन् २०१२ डिसेम्बर १५ बाट सुरु गरिएको भए तापनि चिनियाँ ठेकेदारहरूले काम गर्न ढिलासुस्ती गरेकाले आगामी २०७४ साल साउन मसान्तभित्र सो आयोजनाको निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।
नेपाल सरकारको चार अर्ब ६३ करोड लगानीमा आयोजना निर्माण हुने प्रवद्र्धक कम्पनीले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाबाट प्रतिघन्टा ४० मेघावाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख मिश्रले जानकारी दिए । सो आयोजनाको भौतिक निर्माण ६० प्रतिशत पुरा भै सकेको र ४० प्रतिशत प्राविधिक पक्ष पुरा हुन बाँकी रहेको छ ।