बाँकेको बालसुधार गृहमा झडप, फरार ६३ जना पक्राउ, दुई अझै सम्पर्कविहीन
सौरभ गिरी,
प्रकाशित २०८१ असार २५ मंगलबार
593
Shares
नेपालगन्ज । बाँकेको बालसुधार गृहमा झडप भएर फरार भएका ६५ जनामध्ये २ जना अझै सम्पर्कविहीन भएका छन् ।
जिल्लाको डुडुवा गाउँपालिकास्थित हिरमिनियामा रहेको जयन्दु बालसुधार गृह सोमबार साँझ भएको दुई पक्षीय झडपका क्रममा ६५ जना त्यहाबाट भागेका थिए। उनीहरुको मध्ये ६३ जनालाई गएराति र आज बिहानसम्ममा नेपालगन्ज र डुडुवाका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेका डीएसपी नारायण डाँगीले बताए।
त्यस्तै फरार रहेका दुई जनाको खोजी कार्य जारी रहेको र उनीहरु जान सक्ने सम्भावित स्थानमासमेत सोधखोज हुनुका साथै सीमा नाका तथा भारतको सीमावर्ती बजारमासमेत खोजी भइरहेको डाँगीले जानकारी दिएका छन् ।
उनका अनुसार झडपको नेतृत्व गरेको आरोपमा ११ जनालाई मुद्धा चलाउने तयारी गरिएको छ।
उक्त बालसुधार गृहमा १८ वर्ष भन्दा माथि उमेर समूहका युवाहरु धेरै रहेका कारण बारम्बार झडप हुँदै आएको छ। यसअघि पनि जयन्दु बालसुधार गृहमा दुई समूहबीच झडप भएको थियो।
झडपको घटनाबारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ।