बैंगलुरू प्लेअफमा सबैभन्दा बढी खेल हार्ने टिम, राजस्थान क्वालिफायरमा
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
628
Shares
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरू भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको प्लेअफमा सबैभन्दा बढी खेल हार्ने टिम बनेको छ ।
बुधबार राति भएको इलिमिनेटर खेलमा राजस्थान रोयल्ससँग पराजित हुँदै यो सिजनबाट बाहिरिएको बैंगलुरू आईपीएलको इतिहासमै प्लेअफमा सबैभन्दा बढी खेल हार्ने टिम बनेको छ ।
अहमदाबादमा राजस्थानसँग ४ विकेटले पराजित हुँदै लगातार ६ खेल जितेर प्लेअफमा पुगेको बैंगलुरू बाहिरिएको हो ।
खेलमा पहिले ब्याटिङ गरेको बैंगलुरूले ८ विकेटको क्षतिमा १७२ रन बनायो । रजत पटिदारले २२ बलमा ३४, विराट कोहलीले २४ बलमा ३३ तथा महिपाल लोम्रोरले १७ बलमा ३२ रन बनाए ।
आभेश खानले ३ तथा रविचन्द्रन आश्विनले १९ रन खर्चेर २ विकेट लिए ।
जवाफमा राजस्थानले १९ ओभरमै ६ विकेटको क्षतिमा जित हासिल गर्यो । यशस्वि जैसवालले ३० बलमा ४५ तथा रियान परागले २६ बलमा ३६ रन बनाए ।
मोहम्मद सिराजले २ विकेट लिए । बैंगलुरूले अहिलेसम्म प्लेअफमा १६ खेल खेलेकामा १० खेल हारेको छ । ३ पटक फाइनलमा पुगेको बैंगलुरूले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन ।
प्लेअफमा सबैन्दा बढी २६ खेल खेलेको चेन्नईले ९ हार बेहोरेको थियो भने १७ जित हासिल गरेको छ ।
यो जितसँगै राजस्थान दोस्रो क्वालिफायरमा पुगेको छ । राजस्थानले अब फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदराबादसँग शुक्रबार बेलुकी चेन्नईको मैदानमा खेल्नेछ ।
यो खेलको विजेताले फाइनलमा कोलकाता नाइट राइडर्ससँग खेल्नेछ । कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई ८ विकेटले हराउँदै फाइनलमा स्थान बाएको हो ।
फाइनल खेल आइतबार हुनेछ ।
यो सिजन कोलकाता निकै नै सफल देखिएको छ । त्यस्तै हैदराबादले सबैभन्दा बढी रन बनाउने रेकर्ड तोडेको छ ।
यसपालि पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्स १० टिम सहभागी रहेको आईपीएलको पाँचौँ स्थानमा रहेर लिग चरणबाटै बाहिरियो ।
त्यस्तै अर्को पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स पुछारमा रहेर बाहिरियो । दिल्ली क्यापिटल्स छैटौँ, लखनउ सुपर जाइन्टस सातौँ, गुजरात टाइटान्स आठौँ र पञ्जाब किंग्स नवौँ भयो ।
लिग चरणको अंक तालिका
१४ खेलबाट २० अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा, १७ अंकको सनराइजर्स हैदराबाद दोस्रो, १७ अंककै राजस्थान रोयल्स तेस्रो तथा १४ अंकको रोयल च्यालेन्जर्स बैंगलुरू चौथो स्थानमा रह्यो ।
१४ अंकमै रहेका चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टस क्रमशः पाँचौँ, छैटौँ र सातौँ स्थानमा रहे ।
आठौँ स्थानको गुजरात टाइटान्सको १२, नवौँ स्थानको पञ्जाब किंग्सको १० तथा पुछारको मुम्बई इन्डियन्सको मात्र ८ अंक रह्यो ।