arrow

विद्युत प्राधिकरणका निलम्बित कर्मचारीको समय पुगेपछि पनि भएन हाजिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २५ मंगलबार
dinesh-shiwakoti-80.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई मन नपरेका कर्मचारीलाई अनेकौँ बहाना बनाएर जागिरबाट निकाल्ने प्रपञ्च गरेको भन्दै एक पीडित कर्मचारीले ‘आत्मदाह अन्तिम सत्य हो त अब ?’ भनी प्रश्न गरेका छन् । 

प्राधिकरणका सहायक इन्जिनियर (सिभिल) पदमा कार्यरत दिनेश सिवाकोटी प्राधिकरणको सूचना चुहावट गरेको, विभिन्न सूचनाहरू समाचार माध्यमहरूलाई प्रदान गरेको र आफ्नै कर्मचारीविरुद्ध सामाजिक सञ्जालमा लेखेको भन्दै दुई महिनाका लागि निलम्बनमा परेका थिए । 

आफूले त्यस्तो कुनै काम नगरेको पटक पटक दाबी गरे पनि उनीमाथि कुलमानको वक्र दृष्टि परेको बताइन्छ । सोही कारण शिवाकोटीलाई नेपाल विद्युत प्राधिकरण सेवा सर्त नियमावली २०७५ (संशोधन सहित) को विनियम १५१ बमोजिम गत फागुन २३ गतेदेखि लागू हुने गरी दुई महिनाका लागि निलम्बन गरेको थियो ।

उनलाई कुनै स्पष्टीकरण दिन मौकासमेत नदिई एकैपटक निलम्बन गरिएको उनी स्वयंले बताएका छन् । अहिले निलम्बन फुकुवा भएको तीन दिन हुँदा पनि उनको निलम्बन फुकुवा भएर हाजिर गराइएको छैन । 

उनले हाम्राकुरासँग भने, ‘जनसंशाधन विभागका निर्देशक शिव अधिकारी  र प्रशासन निर्देशनालयका उपकार्यकारी निर्देशकलाई भेट्न खोज्दा ट्रेड युनियनका नेता हरुलाई भेट दिने तर पीडित निलम्बित कर्मचारी मलाई भेट दिएनन् ।’

उनले गुनासो पोख्दै भने, ‘६० दिन निलम्बन गर्ने त्यसपछि निलम्बन अवधि सिध्दिएपछि हाजिर गर्न नदिने ? के नेविप्रा कुलमानको निजी कम्पनी हो र ?’ 

उनले अन्त्यमा भने, ‘आत्मदाह अन्तिम सत्य हो त अब ?’

विसं २०५४ साल बैशाख ५ गतेदेखि करारबाट प्राधिकरणमा जागिर शरु गरेका शिवाकोटीले २०५८ कार्तिक २१ गते स्थायी नियुक्ति पाएका थिए ।

२०७१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीमा रहेर कामसमेत गरेका शिवाकोटीलाई आफूले पेस्की फर्छ्यौट गरिसकेको तर कागज नष्ट गरेर बदनाम गराउन खोजिएको आरोपसमेत लगाएका छन् । 

उनले कुलमान घिसिङले आफूलाई नियत राखेर कुनै कारण बिना निलम्बन गरेको भन्दै सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गरी निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत जीवन रक्षाको माग गर्दै ७ दिनभित्र सुशासनको प्रत्याभूति नभए प्राधिकरण परिसरभित्रै आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ