arrow

बेथा बालश्रमिकका

गुलियो बेच्ने ऋतिकको तीतो कथा [फोटोफिचर]

कलिलो उमेरमै बाल श्रम गर्न बाध्य ऋतिक र उनी जस्तै बालबालिकालाई सरकार र सम्बन्धित निकायले ध्यान पुर्‍याउन अझै ढिला भने गर्नुहुन्न

logo
मनिष अर्याल, 
प्रकाशित २०८१ वैशाख २२ शनिबार
candy-rhitik-paswan.jpg

ललितपुर । बैशाखको चर्को घाम ।सायद दिउँसोको ३ बजेको समय गर्मीको समय । थकित एक जना सानो भाइ हामी बसेकै खाजा घरमा ड्यु पिउदै थियो । म भने गोदावारीमा शनिबार रमाउन आएका मानिसहरुको फोटो लिदै थिएँ । 

यत्तिकैमा त्यो सानो भाइले केही भन्दै थियो, ‘दाइ फोटो त सोधेर खिच्दा राम्रो होला नि ?' फोटो पत्रकारिता गरेको ५ वर्षमा धेरै जना व्यक्ति, धेरै कार्यक्रम, विभिन्न आन्दोलनको फोटो खिँचिसकेको छु, कहिलेकाहिँ सोधेर र कहिलेकाहिँ नसोधी फोटो खिँचेको धेरै अनुभव छ मसँग । 

तर एक जना सानो भाइले त्यो कुरा भन्दा मेरो ध्यान उनैतिर मोडियो र हाम्रो कुरा शुरु भयो । मैले उनको नाम भन्दा पहिले उमेर सोधेँ । उमेर १२ वर्ष पनि नपुगेको । 

उमेरमा कलिलो तर व्यवहारमा निकै पाका सानो भाइ ऋतिक पासवान । घर रौटहट जिल्ला । घरमा बा, आमामात्र । एक जना दाइ त्यो पनि विदेशमै हराएको ।  बा मुटुको रोगी, घरमा दैनिक हातमुख जोड्न पनि धौधौ । 

यही कारणले गर्दा १२ वर्ष पनि नपुगेका ऋतिक कक्षा चारमा पढ्दै गर्दा गाउँकै चिनेको एक जना दाइसँग काठमाडौँतिर हानिए । साहुले दिएको कटन क्याण्डी र खेलौना बिक्री गर्न दिनभरी काठमाडौँका विभिन्न ठाउँहरुमा पुग्ने ऋतिकसँग मेरो भेट रिपोर्टिङको सिलसिलामा गोदावारी भयो ।

शनिबार गोदावारीमा लाग्ने मानिसहरुको भीड र त्यही भीडको वरिपरि हिँड्ने ऋतिकसँग कसैले किनिदिन्छ कि भन्ने आशा बाहेक केही छैन । मैले ऋतिकसँग २४ घण्टाको केवल २ घण्टा समयमात्र बिताएँ । 

उनको जीवनको भोगाइलाई नजिकबाट हेर्ने कोसिसमात्र गरेँ । हामी सँगसँगै हिँड्दै जाँदा गोदावरीमा सामूहिक भोज भइरहेको स्थानमा पुग्यौँ र सायद ऋतिकको मनमा पनि आशा पलाएको थियो होला कसैले किनेदेला भनेर । 

त्यहाँ पुग्न नपाउँदै एक जना आमाले यता नआइज उता जा भन्दै ऋतिकलाई कराइरहिन् । हामीसँगै त्यहाँबाट अलि पर गयौँ र मैले सोधेँ ती आमाले तिमीलाई किन यता नआइज भनेको ? 

उनले मेरो प्रश्न भुइँमा खस्न नपाउँदै जवाफ दिए –उनको नानी बाबुहरुको पीर छ, किन्दे भन्छ त्यसैले ।

मैले फेरि सोधेँ त्यस्तै ठाउँमा त बिक्री हुन्छ होइन र ? मलाई जबरजस्ती बिक्री गर्नु छैन दाइ कतिसँग पैसा हुन्छ, कतिसँग हुँदैन, कहिलेकाहिँ त म कम पैसामा पनि सामान दिन्छु । 

केही समय हिँड्दै हामी अलि तलतिर ओरालो लाग्यौँ । आफ्नै उमेरका केटाकेटीहरु आमाबासँग खेलिरहेका देख्यौँ । तर ऊ भने क्याण्डी बिक्रीका लागि हिँड्दै छ । मैले यो कुरालाई मनन गरेँ ऋतिकसँग केही प्रश्न भने गरिन ।

सानो उमेरमा पनि बाध्यता, अवस्था र परिस्थितिले ऋतिकलाई इमानदार र व्यवहारिक बनाएको छ । सायद सधैजसो गोदावरीमै आउने भएकाले होला ऋतिकलाई त्यहाँ नचिन्ने र नबोल्ने कोही छैन । 

मैले एक जना दिदीलाई सोधेँ यो भाइ कस्तो छ, तपाईहरुसँग कस्तो बोलीचाली र व्यवहार गर्छ ? दिदीले इमानदार, असल छ, नराम्रो गरेको देखेको र सुनेको पनि छैन भन्दै जवाफ आयो ।
 

ऋतिकको दैनिकी क्याण्डी बिक्रीका लागि हिँड्ने हो । साहुले हातमा थमाइदिएको क्याण्डी र केही खेलौना । यही बिक्री गर्ने ऋतिकको लक्ष्य पनि हो । दैनिक रुपमा फरक फरक कमाई । कहिले दिनको चार सय, कहिले पाँच सय त कहिले सातसय आठसय, महिनाको तलब भने ६ हजार मात्र । 

त्यसमा पनि आधा भन्दा बढी कमाई घरमा पठाउन पर्ने । ललितपुरको लगनखेलमा साहु र साहुको भाइ अनि आफू जस्तै क्याण्डी बिक्री गर्न हिँड्न अरु दुई चार जना साथीहरुसँगै बस्छन् ऋतिक । 

आफ्नो गाउँबाट टाढा राजधानीमा उमेरै नपुगी काम गर्न बाध्य ऋतिकलाई सायद थाहा छैन आफू स्वयम् बाल श्रम शोषणमा परेको छु भनेर । 

यसरी काठमाडौँ उपत्यकामा विभिन्न ठाउँमा क्याण्डी बिक्री गर्ने साना भाइ बहिनीहरुलाई साहुले नै गाउँबाट ल्याउने र यसरी नै काममा लगाउने गरेको ऋतिकले बताए । 

उनले भने, ‘मेरो साहुको नाम शैलेन्द्र साह हो । हामीलाई उहाँले सामान दिनुहुन्छ । दिनभरी बेच्ने कोठाबाट बिहान १० बजे निस्कने र साँझमा ७ बजे फर्कने तर शनिबार चाहिँ ८ बज्छ कोठामा फर्कदा ।’

यसरी सडकका किनारा, पार्क र विभिन्न मेला जात्रामा क्याण्डी राम्रैसँग बिक्री पनि हुन्छ । महाननगर तथा नगरपालिकाहरुको पछिल्लो निर्णय अनुसार विभिन्न रङ प्रयोग गरिएका क्याण्डीहरु मानव स्वास्थ्यका लागि हितकारी नभएका कारण बिक्री वितरणमा निषेध गरिएको छ ।

विभिन्न बाध्यता र पारिवारिक अवस्था र परिस्थितिका कारण आफ्नो कलिलो उमेरमै बाल श्रम गर्न बाध्य भएका ऋतिक र उनी जस्तै बालबालिकालाई सरकार र सम्बन्धित निकायले ध्यान पुर्याउन अझै ढिला भने गर्नुहुन्न । (नेपाल फोटो लाइब्रेरी) 

rhitik-paswan-child-labour (1).jpg
rhitik-paswan-child-labour (2).jpg
rhitik-paswan-child-labour (3).jpg
rhitik-paswan-child-labour (4).jpg
rhitik-paswan-child-labour (5).jpg
rhitik-paswan-child-labour (6).jpg
rhitik-paswan-child-labour (7).jpg
rhitik-paswan-child-labour (8).jpg
rhitik-paswan-child-labour (9).jpg
rhitik-paswan-child-labour (10).jpg
rhitik-paswan-child-labour (11).jpg
rhitik-paswan-child-labour (12).jpg
rhitik-paswan-child-labour (13).jpg
rhitik-paswan-child-labour (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ