arrow

मौन अवधिमा चलखेल नभए इलाम २ मा कांग्रेस 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
upanirwachan-2081.jpeg

इलाम । इलाम २ को प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा बुधबार प्रचारप्रसारको अन्तिम दिन दलका उम्मेदवार एवं स्वतन्त्र उम्मेदवारहरु मतदाता फकाउन व्यस्त रहे । बुधबार मध्यरातदेखि मौन अवधि शुरु हुने भएसँगै त्यसअघिको समयमा जतिसक्यो आफ्नो पक्षमा मत बढाउन उम्मेदवारहरु लागेका हुन् । मतदान शनिबार १५ गते हुँदैछ ।

मतदाताहरुसँग गरेको सर्वेक्षणअनुसार नेपाली कांग्रेसको माहोल राम्रो देखिएको छ । एमालेको पहिलेदेखिको एकलौटीपन तर अपेक्षित विकास हुन नसकेको असन्तुष्टि तथा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नै मुद्दामा फसिरहेको अवस्थालाई केलाउँदा कांग्रेसको पल्ला भारी देखिएको हो । 

विभिन्न दलका सभामा भेटिएका र समुदायमा भेटिएका मतदाताहरुसँगको कुराकानीमा उनीहरु कांग्रेसतिर बढी झुकाव राखेको पाइएको हो । यद्यपि पहिचानवादीलाई दिने मत पनि उत्तिकै रहेको छ । 

तर पहिचानवादीको मत पनि कांग्रेसलाई नै जाने आँकलनसमेत भइरहेको छ । कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का स्वयं नै पहिचानवादीको मुद्दालाई अग्रसरता दिने नेतामा चिनिन्छन् । 

एक पहिचानवादी मतदाता भन्छन्, ‘कांग्रेसले अहिलेसम्मका सबै ठूला राजनीतिक परिवर्तनको लिड लिएको छ । कांग्रेसले पहिचानको मुद्दालाई पनि मिलाएर लैजान्छु भनेर खड्काले भनेका छन् यसपालि हेर्नै पर्ने भो ।’

उनको भनाइलाई केलाउने हो भने कोशी प्रदेशमा पहिचानको मुद्दा निकै नै जल्दोबल्दो हो । तैपनि एक जनामात्र सांसद पहिचानवादीको जितेरमात्र त्यसको समाधान हुँदैन भन्ने कट्टर पहिचानवादीहरुले पनि बुझेका छन् । त्यसैले पनि होला कांग्रेसलाई मत दियो भने उसले यो मुद्दालाई आफ्नो मुद्दा बनाएर लैजाने आशामा उनीहरु छन् । 

यसो भन्दैमा पहिचानवादी उम्मेदवारलाई कम आँक्न पनि नमिल्ने मतदाताका भनाइबाट बुझ्न सकिन्छ । यो हिसाबले पहिचानवादीको मत बलियो छ । 

एमालेको मत काटिने 
पहिचानवादीलाई जाने मत एमालेको काटिने देखिएको छ । एमालेले ०७९ मा पहिचानवादीको मतले जितेको थियो । तर जब प्रदेशको नाम राख्ने सवाल आयो एमाले हावी भयो । उनले आफूले जे चाह्यो त्यही हुने भनेर अहम् देखाएको मतदाताको विश्लेषण छ । 

त्यतिबेला सुवास नेम्वाङलाई मत हालेका मतदाताले अहिले उनकै पुत्र सुहाङ नेम्वाङलाई मत खसाल्नेमा शंका उब्जिएको छ । किनकि पहिचानवादीहरु त्यसपछिका दिनमा निकै नै आक्रोशित भए । 

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत आफ्नो क्षेत्र झापामा जान हम्मेहम्मे पर्यो । तोडफोडको स्थितिसमेत आयो । कालो झण्डा देखाइयो । सडक नै अवरुद्ध पारियो । 

त्यतिबेला ओलीले माओवादी केन्द्रलाई आरोप लगाएका थिए । माओवादीहरुको चरित्र नै यस्तै हुने भन्दै यसको जिम्मा सरकारले लिनुपर्ने उनले बताइरहेका थिए । 

यसपालि माओवादीसँग मिलेर संघको सत्ता समीकरण मिलाएको भए पनि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक पटक पनि उपनिर्वाचन क्षेत्रमा पुगेनन् । न त उनले कसैसँग भोटको अपील नै गरे । 

यसले पहिले केपी ओलीले लगाएको आरोपसँग मेल खाने देखिएको छ । प्रचण्ड नजाँदा माओवादीभित्रको ध्रुवीकरण जातिय हुँदै गर्दा भोट बाँडिने सम्भावना रहेको छ । 

ओलीले देखाएको व्यवहारले माओवादीभित्र पनि कांग्रेसतर्फ मत आउने सम्भावना रहेको आँकलनसमेत भइरहेको छ । 

त्यतिमात्र होइन संघमा केपी ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पेलेर गएको ‘इगो’ विषयलेसमेत ठाउँ प्रशस्त पाउने देखिन्छ । 

अर्कातर्फ एमालेभित्रैको असन्तुष्टि पनि व्याप्त बनेको छ । सुवास नेम्वाङको एकछत्र भइरहेको ठाउँमा फेरि उनकै पुत्रले ठाउँ पाउँदा पनि कतिपय एमालेका नेताहरुलाई चित्त बुझेन । 

खुलेआम नभने पनि उनीहरु भित्रभित्र भने षडयन्त्रमा लागिरहेकोसमेत स्रोत बताउँछ । यसको प्रत्यक्ष फाइदा कांग्रेसलाई पुग्ने देखिएको छ । 

एमालेले गरेको भड्किलो प्रचारप्रसारले पनि मतदातामा निराशा छाएको बुझ्न सकिन्छ । एक एमालेकै सभामा सहभागी कार्यकर्ता भन्छन्, ‘जिताउने हामीले हो, हाम्रो घरघरमा गएर भोट मागेको भए पो माया लागेर आउँथ्यो ठूलो सभा र ठूलो सपना देखाएर त कसले भोट देलान् त ?’

कांग्रेस एकमत
कांग्रेस यसपालि एकमत देखिएको छ । कांग्रेसभित्रै संस्थापन र संस्थापन इतर भनी दुई धार रहँदै आइरहेको भए पनि यो उपनिर्वाचनमा उम्मेदवार जतासुकैको भए पनि कुनै पनि धारले कुनै मतलब गरेको छैन । 

कांग्रेसका नेताहरु र कार्यकर्ताहरुको बुझाइलाई मान्ने हो भने उपनिर्वाचन कांग्रेसका लागि प्रतिष्ठाको लडाइँ हो । त्यसका आधारमा पनि कांग्रेस एकढिक्का देखिएको छ । 

रणनीतिक रुपमै कांग्रेस सभापति शेरबहादुर देउवा चुनावी प्रचारप्रसारमा गएनन् । युवा नेताहरुको सक्रियता बढी देखियो । युवा नेताहरुले दिलाएको ऊर्जाले काम गरेको देखिएको छ । 

यसले मतदाताका बीचमा सन्देशसमेत राम्रो गएको दाबी गरिएको छ । कांग्रेस एकमतका साथ जाने कुराले गर्दा खड्काको पल्ला भारी देखिन्छ । पछिल्लो सर्वेक्षणले पनि यो अवस्था देखिएको छ । 

पहिलो पटक मतदान गर्नेहरुका कुरा
पहिलो पटक मतदान गर्नेहरुमा केही हदसम्म रास्वपाको प्रभाव शुरुआती चरणमा देखिएको थियो । तर मतदानको समय नजिकिँदा भने ती नवमतदाताले पनि राजनीतिको तीतो पक्षलाई बुझ्दै गएको पाइएको छ । 

सहकारी प्रकरणका कारण रास्वपालाई ठूलो धक्का लागेको छ । समयमै सहकारीको विषय उठेसँगै उनीहरु पनि सजग भएको पाइएको छ । 

एक मतदाता भन्छिन्, ‘एक्साइट छु । बाबा मम्कीको कुरा नसुनुम् भन्ने थियो । तर थाहा पाउँदै गइयो । अब राइट मान्छेलाई भोट हालिन्छ ।’

त्यसो त रास्वपालाई मत दिने मनस्थिति बनाएकाहरु मत गलत ठाउँमा दिइए गलत मान्छेले जित्ने भएकाले पुरानै पार्टीलाई मत दिने भनेका मतदाता पनि पाइए । 

यति भन्दैमा रास्वपाले ०७९ मा ल्याएको मतमात्रैमा भने सीमित हुने देखिँदैन । केही मत बढ्ने भए पनि अपेक्षा गरेभन्दा निकै कम मत ल्याउने सर्वे देखाउँछ । रास्वपा सभापति रवि लामिछाने चार दिनदेखि इलाममै रहेका छन् । यति हुँदा पनि उनको प्रभाव सकारात्मक भन्दा नकारात्मक हुन पुगेको अनुमान पनि भइरहेको छ । 

उनले दिने भाषण अपत्यारिला भएकोसमेत अनुमान हुँदै गएको छ । उनले हरेक महिना ठूला माछा पक्रिने दाबी गरे पनि आफू नै सुशासनमा नभएको, सहकारी प्रकरणमा मुछिएको, संसदीय छानबिन समिति बनाउन नदिएको प्रश्नबाट उम्कन सकेका छैनन् । 

यसले पनि रास्वपाको जनमत बन्ने सम्भावना कम छ । रविले ठूला दललाई आरोपसहित आक्रामक प्रचार गरे पनि अन्डर करेन्टको प्रभाव इलाममा देखिएको छैन । तनहुँको माहोल इलाम २ मा बनाउने दाबी गरिरहँदा रास्वपा सफल नदेखिएको बुझ्न सकिन्छ ।  

मतदाताले सिधै सहकारी ठगीको विषय उम्मेदवार र प्रचार गर्न पुगेका केन्द्रीय नेताहरुसँग उठाइरहेका छन् । यसका साथै मतदाताले फरक भन्ने अनि उनै पुराना नेतासँग कुम जोडेर हिँड्ने भन्दै रास्वपाको सरकारको सहभागितालाईसमेत प्रश्न गरेका छन् । 

त्यस्तै इलामका मतदाताले रास्वपाको उम्मेदवार छनोटलाईसमेत प्रश्न उठाएका छन् । माओवादी पृष्ठभूमिका पत्रकार रहेका मिलन लिम्बू चुनाव अघिमात्र पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । रास्वपाले मिलनलाई उम्मेदवार बनाएपछि उनलाई अहिले पनि घन्टी बाहकको रुपमा स्वीकार गर्न हिच्किचाएको देखिएको छ ।

अन्य दलका उम्मेदवार कमजोर हुँदा त्यसको फाइदा स्थानीय नेता डम्बर खड्काले लिने आँकलन गरिएको छ । राजनीतिक र सामाजिक जीवनका कारणले पनि उनी प्रभावशाली देखिएका छन् । 

यो भोटमा परिणत हुने अवस्था देखियो भने ०७९ को नतिजा उल्टने देखिएको छ । कुराकानीका क्रममा मतदाताले बताएअनुसार पछिल्लो समय विभिन्न काममा युवामाझ खड्काले काम गरेको चर्चा भइरहेको छ । 

मठ मन्दिर, खेलुकदमा पनि उनलाई सम्झन्छन् । 

प्रचारको शैली
प्रचारको शैली यसपालि दुई प्रकारको देखियो । पहिलो भड्किलो र दोस्रो शान्त । दलहरुले प्रायः भड्किलो प्रचार शैली अपनाए । विशेष गरी एमाले र रास्वपाको शैली भड्किलो थियो । 

ठूलो सभा । ठूलो जनसमुदाय र ठूलो खर्च । 

कांग्रेस सहितका केही दलसँगै स्वतन्त्र उम्मेदवार भने मतदाताको घरघरमा गए । अनि सानो समूहमै हिँडे । हरेक वडामा त्यहाँका स्थानीय नेतालाई जिम्मा दिएर प्रचार प्रसार गर्न भनिएको थियो । 

एक कांग्रेस नेता भन्छन्, ‘हाम्रो रणनीति नै कुनै पनि वडाको मतदाता अर्को वडामा भाषण सुन्न जाने अवस्था नआओस् भनेर सानो सानो समूहमा रहेर प्रचार प्रसार गरेका हौँ । हामी भीड जम्मा गर्ने भन्दा पनि मतदाताका पीर मर्का बुझ्नेतिरै केन्द्रित भयौँ ।’

यहीनेर एक एमालेका स्थानीय नेताको बुझाइ पनि त्यस्तै छ । तर उनी केन्द्रबाटै नेता आएपछि आफूहरुले सोचेजस्तो नभएको बताउँछन् । उनले भने, ‘बालाई हेर्न जाने धेरै भए । प्रचार उम्मेदवारको भन्दा पनि बाको भयो ।’ (एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एमाले नेता कार्यकर्ताहरु ‘बा’ भनी सम्बोधन गर्छन्) ।

एमालेले ठूलो आमसभा गरी खर्च बढी गरेको सर्वेले देखाउँछ ।

चुनाव इलाम २ को, भिडन्त केन्द्रको
यसपटकको उपनिर्वाचनमा स्थानीय मुद्दा भन्दा पनि केन्द्रीय मुद्दाले प्राथमिकता पाएपछि स्थानीय उम्मेदवारहरु केही चिन्तित भए । विशेष गरी स्थानीय दलसँगै स्वतन्त्र उम्मेदवारलाई प्रत्यक्ष असर गरेको देखियो । 

इलाम–२ मा ठूला साना दल र स्वतन्त्रबाट १९ जना उम्मेदवार रहेका छन् । भिडन्त भने  कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मिलन लिम्बूबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ ।

एमालेका नेम्वाङलाई सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ ।

त्यस्तै पहिचानको मुद्धालाई स्थापित गर्न उम्मेदवार बनेका थेगिमलाई सत्ता साझेदारी दल जसपासहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनकोसमेत समर्थन रहेको दाबी गरिएको छ । 

कांग्रेसमा खड्कालाई दोहोराएर टिकट दिने विषयमा विवाद भए पनि अहिले आएर सबै एकजुट भएसँगै त्यो विवाद नभइ न्यायमा परिणत भएको छ । किनभने ०७९ को निर्वाचनमा खड्का सुवास नेम्वाङसँग मात्र ११४ रनले पराजित भएका थिए । 

विभिन्न सर्वेलाई आधार मान्ने हो भने मौन अवधि शुरु नहुँदासम्म कांग्रेसलाई बलियो बनेको देखाएको छ । तर मौन अवधिमा पैसाको खोला बग्न सक्ने आँकलनबीच परिणामको विश्लेषण गर्न कठिन हुन्छ । 

मौन अवधिमा चलखेल नभए इलाम २ कांग्रेसको भएको दाबी विभिन्न सर्वेक्षणबीच भएको हो । 

इलामको उपनिर्वाचन पहिचानवादीका लागि अग्निपरीक्षा हुने देखिएको भएकाले थेगिमले यस निर्वाचनमा चुनाव जित्ने कुरा त अहिले नै अनुमान गर्न सकिन्न तर उनले राम्रो मत ल्याउने संकेत देखिएको छ । 

उनको पक्षमा मतदाताले देखाउने विश्वासले नै पहिचानवादीहरुको आन्दोलनको भविष्यको बाटो तय हुने हुनाले उनीहरु मतदाताको कसीमा खरो उत्रिने प्रयासमा रहेका छन् । यस अर्थमा यो निर्वाचन उनीहरुको लागि ठूलो अग्निपरीक्षा भएको छ ।

इलाम २ मा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  

त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् । 

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पूरै तथा इलाम नगरपालिका (१) वडा बाहेक, देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । 

यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ