arrow

उपनिर्वाचनमा कांग्रेस संगठित, एमालेलाई सकस, रास्वपालाई सहकारीको पिछा, अग्निपरीक्षामा पहिचानवादी 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
ilam2-byelection-2081-candi.jpg

इलाम । इलाम २ मा आगामी बैशाख १५ गते प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा उम्मेदवारहरु मतदाता फकाउन व्यस्त छन् । उपनिर्वाचनमा स्थानीय मुद्धा भन्दा पनि केन्द्रीय मुद्धाले प्राथमिकता पाएपछि उम्मेदवारहरुको चिन्ता बढेको छ । 

इलाम–२ मा ठूलासाना दल र स्वतन्त्रबाट १९ को उम्मेदवार रहे पनि नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, कांग्रेसका डम्बरबहादुर खड्का) का मिलन लिम्बू र स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिमबीच नै चुनावी प्रतिष्पर्धा रहेको देखिएको छ ।

एमालेका नेम्वाङलाई सत्ता गठबन्धनमा रहेका दल माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र नेपाल परिवार दलको समर्थन छ ।

त्यस्तै पहिचानको मुद्धालाई स्थापित गर्न उम्मेदवार बनेका थेगिमलाई सत्ता साझेदारी दल जसपासहित पहिचानवादी दलहरु राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा किरात याक्थुङ चम्लुङ, किरात राई यायोख्खालगायत सामाजिक संघसंस्था र किरात धर्मगुरु आत्मानन्द लिङदेनकोसमेत समर्थन रहेको दाबी गरिएको छ । 

इलाममा एमाले र कांग्रेस आफ्नो विरासतलाई कायम राख्न आफ्नै मतदातालाई फकाउन मै व्यस्त देखिएका छन् । एमाले सुवासचन्द्र नेम्वाङकै छोरा सुहाङलाई चुनावी मैदानमा उतारेर युवा र  सुवास नेम्वाङप्रतिको सहानुभूति मत दुवैलाई आफ्नो पक्षमा पारेर जित हासिल गर्ने रणनीतिका साथ हिँडिरहेको छ । तर एमाले रास्वपा र पहिचानवादीले आफ्नो भोट काट्ने डरबाट मुक्त भने छैन । 

यसअघि सुवास नेम्वाङले ०७९ को निर्वाचनमा कांग्रेस उम्मेदवार खड्कालाई मात्र ११४ मतले जितेका थिए । कुनै समय नेम्वाङ मतगणना हुँदा पछि परेपछि मतगणना नै रोकिएको थियो । अहिले एमालेलाई यो सिट जोगाउन ठूलो चुनौती देखिएको छ ।

त्यसैगरी एमालेभित्रै असन्तुष्टि ब्याप्त भएका कारणले पनि भोट क्रस हुने अनुमान भइरहेको छ । त्यतिमात्र होइन यसअघि पहिचानवादीको मतसमेत नेम्वाङले लिँदै आएकामा अहिले त्यो भोटसमेत काटिएपछि एमालेलाई टाउको दुःखाइ भएको छ । 

अर्कोतर्फ कांग्रेस भने बाहिरका मतदातालाई आकर्षित गर्ने भन्दा पनि आफ्नै मत जोगाउने रणनीतिमा रहेको देखिएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा इलाम २ को उपनिर्वाचनमा स्थानीय असन्तुष्ट कार्यकर्तालाई फकाउने र मत बाहिर जान नदिने काममा व्यस्त देखिएका छन् । 

कांग्रेसमा खड्कालाई दोहोराएर टिकट दिने विषयमै केन्द्रसम्म नै विवाद भएको थियो । अब निर्वाचनमा कांग्रेसले आफ्नै नेता कार्यकर्तालाई एक ठाउँमा राख्ने चुनौतीको सामना गरिरहेको छ । बलियो एमाले, लहरसहित अगाडि बढेको रास्वपा तथा पहिचानवादीको आक्रमकताका बीचमा आफ्नो भोट जोगाउने लडाईमा कांग्रेस देखिएको छ ।

यद्यपि विभिन्न सर्वेले भने कांग्रेसलाई अहिले बलियो बनेको देखाएको छ । पहिचानवादीको भोट एमालेले काटे पनि कांग्रेसको भोट भने सुरक्षित रहेको दाबी गरिएको छ । त्यतिमात्र होइन त्यो क्षेत्रमा माओवादीको मत सहजै एमालेमा नजानेसमेत देखिएको छ । 

माओवादीको मत रास्वपालाई जाने सम्भावनाले पनि एमालेलाई थप टाउको दुःखाइ भएको छ । कांग्रेसले आफ्ना मत जोगाउने हो भने जित सहज भएको विश्लेषण भइरहेको छ । 

त्यस्तै पुराना दल भन्दा फरक रहेको दाबी गर्दै अगाडि बढिरहेको रास्वपाले इलाम उपनिर्वाचनमा भने काउन्टर अट्याक पाइरहेको विश्लेषण गरिएको छ । अहिले सभापति एवं गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणले इलाममा रास्वपालाई अस्वभाविक धक्का दिइरहेको महसुस स्वयं रास्वपाका कार्यकर्ताहरुले गरिरहेको देखिएको छ । 

मतदाताले सिधै सहकारी ठगीको विषय उम्मेदवार र प्रचार गर्न पुगेका केन्द्रीय नेताहरुसँग उठाइरहेका छन् । यसका साथै मतदाताले फरक भन्ने अनी उनै पुराना नेतासँग कुम जोडेर हिँड्ने भन्दै रास्वपाको सरकारको सहभागितालाईसमेत प्रश्न गरेका छन् । 

त्यस्तै इलामका मतदाताले रास्वपाको उम्मेदवार छनोटलाईसमेत प्रश्न उठाएका छन् । माओवादी पृष्ठभूमिका पत्रकार रहेका मिलन लिम्बू चुनाव अघिमात्र पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका थिए । रास्वपाले मिलनलाई उम्मेदवार बनाएपछि उनलाई अहिले पनि घन्टी बाहकको रुपमा स्वीकार गर्न हिच्किचाएको देखिएको छ ।

त्यसैगरी इलामको उपनिर्वाचन पहिचानवादीका लागि अग्निपरीक्षा हुने देखिएको छ । थेगिमले यस निर्वाचनमा चुनाव जित्ने कुरा त अहिले नै अनुमान गर्न सकिन्न तर उनले राम्रो मत ल्याउने संकेतसमेत देखिएको छ । 

उनको पक्षमा मतदाताले देखाउने विश्वासले नै पहिचानवादीहरुको आन्दोलनको भविष्यको बाटो तय हुने हुनाले उनीहरु मतदाताको कसीमा खरो उत्रिने प्रयासमा रहेका छन् । यस अर्थमा यो निर्वाचन उनीहरुको लागि ठूलो अग्निपरीक्षा भएको छ ।

इलाममा स्थानीय भन्दा केन्द्रीय मुद्धा नै हावी भएपछि एमाले–कांग्रेसले सहजता महसुस गरे पनि यसको ठूलो असर अहिले रास्वपालाई परेको देखिएको छ । तर उम्मेदवारहरु सहर केन्द्रित मात्र हुनुले मतदाताको समस्या र गुनासो पहिचान गर्न नसकेकोसमेत विषय आएको छ ।

विसं २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा सो क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए । उनको गत भदौ २६ गते निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । 

सो क्षेत्रमा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्वाङ एक्लैले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । नेम्वाङसँग कांग्रेसका खड्का एक सय १४ मतको झिनो अन्तरले पराजित भएका थिए । खड्काले २९ हजार नौ सय मत प्राप्त गरेका थिए । 

यस बाहेक सो क्षेत्रमा एकीकृत समाजवादीका जितबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लक्ष्मी गुरुङ, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मङ्गोल नेशनल अर्गनाइजेशनका मीनबहादुर लिम्बू, नेशनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्त्रविक्रम शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपाली चुनावी मैदानमा छन् ।  

त्यस्तै स्वतन्त्र उम्मेदवारहरु डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार शाही, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी मैदानमा छन् । 

यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पूरै तथा इलाम नगरपालिका (१) वडा बाहेक, देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन् । 

उम्मेदवारहरुले चैत २८ देखि बैशाख १२ गतेसम्म मात्र चुनावी प्रचारप्रसार गर्न पाउने छन् । यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाताले बैशाख १५ गते मतदान गर्न पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ