arrow

तीन अर्बको लागतमा लुम्बिनीमा पेट्रोलियम डिपो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ५ बुधबार
noc-81-01-05.jpg

काठमाडौँ । तीन अर्ब लागतमा लुम्बिनी प्रदेशमा नेपाल आयल निगमको पेट्रोलियम भण्डारगृह (डिपो) निर्माणको कार्य शुरु भएको छ । रुपन्देही जिल्लाको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा उक्त डिपो बनाउन शुरु गरिएको हो ।

डिपो निर्माणको शिलान्यासअघि अहिले तटबन्ध निर्माण र जमीन पुर्ने कार्यको थालनी गरिएको हो । बुधबार ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमार यादव र रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले संयुक्त रूपमा उक्त डिपो भूमि सम्याउने र रिटेनिङ वाल लगाउने कार्यको शुभारम्भ गरे । 

उक्त डिपोको शिलान्यास आगामी मंसिर महिनामा हुनेछ । २०८३ सालभित्र उक्त डिपोको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भण्डारण गृह निर्माण परियोजनाका संयोजक प्रदीप निगमले खरिद गरेको साढे १३ बिगाहा जग्गामा नयाँ भण्डारण गृह निर्माण गर्न लागिएको हो । 

सो स्थानमा डिजेल भण्डारणका लागि २१०० किलोलिटरका तीन, पेट्रोल भण्डारणका लागि १६०० किलोलिटर दुई र मट्टितेल भण्डारणका लागि ७० किलोलिटरका तीन वटा ट्यांक निर्माण हुनेछन् । भण्डारण निर्माण भएसँगै हालको भलबारी डिपो यहाँ सर्नेछ । 

सो भण्डारगृह निर्माण भएपछि यसले लुम्बिनी प्रदेशको २० दिनको पेट्रोलियम पदार्थको माग धान्नेछ। निगमले पेट्रोलियम पदार्थको भण्डारण क्षमता अभिवृद्धिका लागि देशका विभिन्न स्थानमा भण्डारण गृह निर्माण गर्दै आएको छ । 

कार्यक्रममा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसादले परियोजना निर्माणमा स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । निगमले स्थानीयको चासो सम्बोधन गरिदिनुपर्नेमा जोड दिए। 

ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जितकुमारले स्थानीय जनतालाई रोजगारी दिने तथा यस क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे । 

आगामी असारसम्म तटबन्ध लगाउने र जमीन पुर्ने काम सम्पन्न गरिने जानकारी दिँदै उनले असोजभित्र परियोजनाको डिजाइन सम्पन्न गरिने जानकारी दिए। परियोजनाको डिजाइन काठमाडौँ विश्वविद्यालयले गर्ने जनाइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ