arrow

जननायक सलहेस र राजाकी छोरी मालिनीबीचको प्रेम प्रसङ्ग जीवितै [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १ शनिबार
sahahes-flower-sunakhari-(1.jpg

सिराहा । प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात् बैशाख १ गतेमात्र फुल्ने फूल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भीड लागेको छ । 

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिकाको १२ र २२ नम्बर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा आजकै दिनमात्र फुल्ने फूल दर्शन गर्न आउने दर्शनार्थीहरुको भीड लागेको हो । 

राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेस फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न नेपाल तथा भारतबाट हजारौंको संख्यामा प्रत्येक वर्षझैं यस वर्ष पनि दर्शनार्थीहरु बिहानैदेखि भीड लाग्न थालेको सञ्चारकर्मीसमेत रहेका स्थानीय अनुभक्त चौधरीले जानकारी दिए। 

सलहेस गाथामा उल्लेख गरिएअनुसार सिराहाको महिसोथामा जन्मिएका लोक नायक सलहेस फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ। आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरुको भिड लाग्ने गरेको मन्दिरका पूजारी जितेन्द्र सिंह धामी जानकारी दिए। 

उनका अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेस र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर सलहेसले कारणवश अरुनै स्त्रीसँग विवाह गरे पनि उनीहरुबीचको प्रेममा कुनै कमी नआएको भन्ने लोकोक्ति छ।

सोही प्रेमको प्रतीकको रूपमा बैशाख १ मा सुनाखरीको फूल फुल्ने जनविश्वास रहेको छ। सलहेस तराईका पासवान जातिका इष्टदेव रहेको र तेह्रौँ शताब्दीका लोक नायक भएकोले सलहेसको पूजाअर्चना गर्नाले मनोकांक्षा, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वाससमेत रहेको छ। फूलबारी भित्र दुर्लभ जातिका जडीबुटीहरुसमेत रहेको बताइन्छ ।

प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल्ने फूल सलहेस र उनकी प्रेमिका मालिनीको प्रेम प्रतीकका रूपमा फुल्ने गरेको जनविश्वास छ । 

ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणको घुँइचो लागेको छ । 

पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरुमध्ये सिरहाको सलहेस फूलबारी अन्य दिन पर्यटकहरु पुग्ने गरे पनि आज नयाँ वर्षको दिन विशेष पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको ठूलो भीड लाग्ने गरेको छ।

हरेक वर्षको चैत मसान्त र बैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आइरहेको छ।

सलहेस फूलबारी मेला व्यवस्थित गर्न यस वर्ष फूलबारी क्षेत्रमित्र सामानहरु बेच्न प्रतिबन्ध लगाएको छ। 

दर्शनार्थीहरुको सहजताको लागि फूलबारी क्षेत्रभन्दा बाहिरमा सबैलाई सहज हुनेगरी सामान बिक्रीका स्टलहरु निर्माण गर्न दिइएको मेला समितिले जनाएको छ। 

sahahes-flower-sunakhari (5).jpeg
sahahes-flower-sunakhari (1).jpeg
sahahes-flower-sunakhari (2).jpeg
sahahes-flower-sunakhari (3).jpeg
sahahes-flower-sunakhari (4).jpeg


लोकप्रिय समाचार
नयाँ