arrow

गृहमन्त्रीमाथि छानबिनको अडानकाबीच प्रतिनिधि सभा बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २७ मंगलबार
parliament-house-new-2080-12-16.jpg

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडानकाबीच आज  प्रतिनिधि सभा बैठक बस्दै छ ।  बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ ।

कांग्रेसले आज संसद अवरोध नगरे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको छ । 

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौय गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

हिजो सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा पनि कांग्रेसले आफ्नो अडान दोहोराएको थियो ।आजबाट शुरु हुने संसद बैठकलाई सुचारु गराउन सोमबार राखेको प्रमुख चार दलको बैठकमा कांग्रेसले सो अडान राखेको थियो । 

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने माग गर्दा सरकार मान्न तयार नभएकाले आजबाट संसद्को कुनै पनि गतिविधि अवरुद्ध भए त्यसको जिम्मेवार सरकारले लिनुपर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले  बताएका छन् । 

यसअघि गृहमन्त्री  सहकारी ठगी प्रकरणमा मुछिएको विषयलाई छानबिन गर्न संसदीय समिति बनाउनका लागि दिइएको अल्टिमेटम सकिएको घोषणा गरिसकेको छ । 

यता, सत्तारुढ एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने मिथ्या आरोपको भन्दै छानबिन समिति बनाउन नसकिने बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ