arrow

शैक्षिक सत्र अगावै पुग्यो पाठ्यपुस्तक

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २३ शुक्रबार
pathya-pustak-2080.jpg
तस्बिर-फाइल

बैतडी । बैतडीमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेको छ । आगामी शैक्षिक सत्रका लागि जिल्लाका पुस्तक बिक्रेताकहाँ पाठ्यपुस्तक पुगेको हो । 

पहिलो पटक शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि पाठ्यपुस्तक उपलब्ध भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको हो । 

बैतडीमा कक्षा १ देखि १० सम्म ६७ हजार ६ सय ४६ विद्यार्थी रहेकाले त्यति नै सङ्ख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । बैतडीमा पाँच सय ३९ सामुदायिक विद्यालय रहेका छन् । 

कक्षा १ देखि १० सम्मका सबै विषयका पाठ्यपुस्तक बिक्रेताकहाँ पुगिसकेका छन् । बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लैजाने गरेका छन् । 

सम्बन्धित स्थानीय तहले विद्यालयको खातामा पाठ्यपुस्तक खरीदका लागि रकम निकाशा गर्ने गरेको छ । कक्षा १ देखि १० सम्म सरकारले निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने गरेको छ । 

शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक पुगेपछि पठनपाठन गर्न सहज हुने सनातन धर्म माविका प्रधानाध्यापक बलदेव नाथले बताए । 

पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उनको भनाइ छ । आगामी वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुँदैछ । वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । 

अभियानको पहिलो हप्ता विद्यार्थीले विद्यालयमै गएर भर्ना हुने कार्यक्रम छ । वैशाख ७ गतेदेखि छुटेका विद्यार्थीलाई विद्यालयमा पहुँच पुर्याउन घरदैलो अभियान सञ्चालन हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ