arrow

सहकारीका केही ठगमाथि सङ्गठित अपराधमा अनुसन्धान, लामिछाने भने गृहकै कुर्सीमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २२ बिहिबार
ravi-lamichhane-home-minist.jpg
तस्बिर : फाइल

काठमाडौँ। सुन तस्करीको अनुसन्धानका लागि भनेर पक्राउ परेका दीपेश पुनलाई रुपन्देही प्रहरीले सहकारी ठगीको सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको आरोपमा काठमाडौँबाट पक्राउ गरी बुटवल लगिएका पुनलाई प्रहरीले सङ्गठित अपराधको मुद्दामा अनुसन्धान गर्न थालेको हो। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र हालका गृहमन्त्री रवि लामिछानेले ग्यालेक्सी फोर के टेलिभिजनमा सहकार्य गरेका थिए।

सङ्गठित अपराधको मुद्दा अन्तर्गत प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने व्यवस्था रहेको छ। दीपेश लगायतमाथि अनुसन्धान गर्न अझै समय लाग्ने र सहकारी ठगी आफैँमा सङ्गठित अपराध भएकाले ठगी मुद्दाबाट सङ्गठित अपराधमा रूपान्तरण गरी अगाडी बढाइएको रुपन्देही प्रहरी प्रमुख रन्जितसिंह राठौरले जानकारी दिए। ‘सहकारी ठगी पनि सङ्गठित अपराध भएकाले अहिले त्यही विषयमा अनुसन्धान भइरहेको छ, इलाका प्रहरी कार्यालय बुटवलले सो मुद्दा हेरिरहेको छ’, एसपी राठौरले भने।

पुनलाई चैत २ गते काठमाडौँमा पक्राउ गरी बुटवल पठाइएको थियो। फागुन ४ गते सहकारीका वर्तमान अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाकी व्यवस्थापक दुर्गा पाण्डेय चापागाईँलाई प्रहरीले पक्राउ गरेपछि उनलाई पक्राउ गरी रुपन्देही पठाइएको हो। सुनको अवैध पैठारी तस्करी सम्बन्धी अनुसन्धान गर्न बनेको उच्चस्तरीय आयोगले पुनलाई समेत पक्राउ गरेर अनुसन्धान गर्न सिफारिस गरेको थियो। 

‘पुन पक्राउ गर्दा सुन तस्करीको अनुसन्धान भन्दै प्रचार गरियो, अहिले सहकारीमा अनुसन्धान हुँदै छ, जुन सहकारीका गृहमन्त्री आफै मुछिएका छन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने।

सहकारीका सञ्चालक र कर्मचारीका रूपमा रहेका कुमार रम्तेल र सहकारीको आइटी प्रमुख भविश्वर अर्याललाई पनि पोखराबाट बुटवल ल्याएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू सबैलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। पक्राउ गर्नु अघि रम्तेललाई गृहमन्त्री लामिछाने आफैले सेटिङमा पठाएको स्रोतको दाबी छ। ‘आफू केही समयपछि गृहमन्त्री हुन्छु त्यसपछि सबै कुराको व्यवस्थापन गरौला भन्ने शर्तमा पठाइएको हो’, स्रोतले भन्यो।

प्रहरीले सहकारी रजिस्ट्रार र कम्पनी रजिस्ट्रार कार्यालयबाट मगाएको विज्ञ टोली र सीबीआईको सहायतामा अनुसन्धान गरिरहेको रुपन्देही प्रहरीले जनाएको छ। रुपन्देही, कपिलवस्तु, नवलपरासीका धेरै बचतकर्ता रहेको सुप्रिम सहकारीका अध्यक्ष एवं कर्मचारी पक्राउ परेपछि प्रहरीले सूचना जारी गरेर बचतकर्तालाई निवेदन दिन आग्रह गरेको थियो। अहिलेसम्म एक हजार ७२२ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका छन्। यस्तै प्रहरीले यही हप्ता सुप्रिम सहकारीबाट ऋण लिएका व्यक्तिहरूलाई सम्पर्कमा आउन सूचना जारी गरेको थियो। सोही अनुसार बचतकर्ता र ऋणी दुवै यति बेला प्रहरीको सम्पर्कमा छन्।

सहकारीबाट जीबी राई र उनी संलग्न विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको छ। अन्य एक सयभन्दा धेरै ऋणी छन्। २०७२ फागुनको साधारण सभाबाट सुप्रिमको अध्यक्षमा गितेन्द्रबाबु (जीबी) राई र दीपेश पुन कोषाध्यक्ष चयन भएका थिए। रकम हिनामिना गरेको मुख्य आरोपित संस्थापक जीबी राई र बुटवल व्यवस्थापक सागर केसी अहिले फरार छन्। पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्द किशोर पुनका छोरा दीपेश माओवादी पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्वियुका केन्द्रीय महासचिव हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ