बेंगलुरू र लखनउ भिड्दै, राजस्थान शीर्षमा, मुम्बई सबैभन्दा कमजोर
हाम्रा कुरा
प्रकाशित २०८० चैत २० मंगलबार
520
Shares
काठमाडौँ । इण्डियन प्रिमियर लिग(आईपीएल) टी–२० क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बेंगलुररू र लखनउ सुपर जाइन्टबीचको खेल हुँदैछ । बेंगलुरूमा हुने यो खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजेदेखि शुरु हुँदैछ ।
जारी आईपीएलमा बैंगलुरूले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
बैंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो भने चेन्नई र कोलकोताविरुद्ध हार बेहोरेको थियो । त्यसैगरी लखनउले राजस्थान रोयल्सविरुद्ध हार बेहोरेको थियो भने पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो ।
यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ ।
यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै पछिल्लो पञ्जाव किंग्सविरुद्धको खेलमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादवमाथि सबैको नजर हुने छ । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका छन् । यस खेलमा पनि उनीमाथि सबैको नजर हुने छ ।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बेंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् ।
त्यस्तै रोयल च्यालेन्जर्स बेंगलुरूले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरू छैटौं स्थानमा रहेको थियो ।
जारी सिजनको अंक तालिका
जारी १७ औं सिजनमा राजस्थान रोयल्स सबैभन्दा बलियो देखिएको छ भने पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स सबैभन्दा कमजोर देखिएको छ ।
गएरातिको खेलमा अपराजित राजस्थान रोयल्सले मुम्बईलाई ६ विकेटले पराजित गरेसँगै सबैभन्दा अब्बल ठहरिएको हो । राजस्थानको ३ खेलबाट ६ अंक छ ।
पुछारको मुम्बईको ३ खेलबाट अंक रहेको छैन ।
अहिलेसम्म कोलकाता नाइट राइडर्स पनि अपराजित छ । उसले २ खेलबाट ४ अंक बटुलेको छ । चेन्नई सुपर किंग्स र गुजरात टाइटान्सले ३ मध्ये एक खेल हारेर क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
हैदराबाद, लखनउ, दिल्ली, पञ्जाब र बेंगलुरूले समान २ अंक जोडेका छन् ।