arrow

सहकारी ठगी प्रकरण

सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गर्‍यो- कांग्रेस [भिडियो]

एउटा व्यक्तिलाई बचाउनु नै आफ्नो धर्म हो भन्ने ठानेझैँ सतिसालझैँ दलका नेता उभिए

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १९ सोमबार
pratima-gautam-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सरकारले सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएकी छन् । सोमवार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद गौतमले सरकारले सहकारी पीडितहरूलाई न्याय दिनुभन्दा पनि सहकारी ठगहरूको पक्षमा वकालत गरेको बताएकी हुन् । 

उनले गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगको संज्ञा दिँदै प्रधानमन्त्रीले संसद्मा उभिएरै गृहमन्त्रीको पक्षमा न्यायाधीश जसरी फैसला सुनाएको बताइन् । उनले प्रधानमन्त्री कार्यकारी पनि आफैँ र न्यायालय पनि आफैँ भएर प्रस्तुत भएका पनि बताइन् । सांसद गौतमले गृहमन्त्री लामिछानेले आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिएको उल्लेख गर्दै उजुरी ताम्रपत्र वा स्वर्ण पत्रमा लेख्ने चलन नभएको बताइन् । 

उनले सत्ता गठबन्धनका नेताहरू सहयात्री दलका नेतालाई गुमाउनुपर्छ कि भनेर त्रासमा रहेका बताइन् । सरकार टिकाउनका लागि गृहमन्त्रीमाथि सहकारी प्रकरणमा अनुसन्धान नभएको उनको भनाई छ ।

उनले भनिन् – ‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीज्यूलाई गुमाउनुपर्छ कि भन्ने बडो मानसिक पीडामा सरकार रहेको देखियो । त्रसित भएको देखियो । सत्ता साझेदार दलका नेताहरू एउटा व्यक्तिलाई बचाउनु नै आफ्नो धर्म हो भन्ने ठानेझैँ सतिसालझैँ उभिनुभयो । हामी बुझ्दछौँ, सरकार टिकाउनुपर्ने अवस्था छ । सरकारभित्रका बाध्यता होलान् । तर सरकारका मुखिया र गठबन्धनका नेताहरूको कुरा सुन्दा लाग्छ, उहाँहरू सबै आइ एम द स्टेट भन्ने तथ्यमा पुग्नुभएको छ । उहाँहरू कार्यकारी पनि आफैँ हुनुहुन्छ । न्यायालय पनि आफैँ हुनुहुन्छ । वादी, प्रतिवादी दुवै आफैँ हुनुहुन्छ । अनि फैसला पनि सुनाउनुहुन्छ । आफ्नो अनुकूलमा उहाँहरूले आफ्नो फैसला सुनाउनुहुन्छ । सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामा भन्दा उनीहरूलाई घर न घाटको बनाउने सहकारी ठगहरूको पक्षमा वकालत गर्ने, फैसला सुनाउन उद्यत भएको देखिन्छ । प्रधानमन्त्रीज्यू यही संसद्मा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको उजुरी कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला दिनुहुन्छ । मानौँ, वासिङ मेसिनमा राखेर सफा, चट्ट पारेर निकालेको जस्तो गरेर बोल्नुहुन्छ । आरोपित गृहमन्त्रीज्यू आफू विरुद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ । उजुरी त कागजमै लेख्ने होला नि । ताम्रपत्रमा कि स्वर्ण पत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई जानकारी गराइदिए हुन्थ्यो नि ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ