arrow

आपराधिक जालो

नेपाली भूमिबाट भारतीय नागरिक ठग्ने चिनियाँ गिरोहको पर्सा प्रहरीले गर्‍यो पर्दाफास

शंका लागेर पछ्याउँदा प्रहरीले पाएको ठूलो सफलता

logo
दिपेन्द्र चौहान, 
प्रकाशित २०८० चैत १८ आइतबार
three-chinese-crime-80-12-18.jpg

वीरगञ्ज। अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन चिनियाँ नागरिकलाई आइतबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेहरुमा ३३ वर्षीय लिउ ग्यु साई, २६ वर्षीय वाङ बोहन र ३६ वर्षीय छिङ्ग छावो हुन् । तीन जनालाई सार्वजनिक गरे पनि अरु थप दुई जना चिनियाँ नागरिक पनि हिरासतमा रहेको प्रहरी स्रोतले बताएको छ । 

उनीहरुले वीरगञ्ज महानगरपालिका– १५ स्थित नन्दु पटेलको घरमा भाडा लिई कल सेन्टर स्थापना गरी कर्मचारीहरु राखेर नेपाल, भारत र पाकिस्तानका नागरिकलाई सामाजिक सञ्जाल तथा टेलिफोनमार्फत ठगी गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले बताए । 

पक्राउ परेका उनीहरुको साथबाट कम्प्युटर डेक्सटप सीपीयू एक सय २० थान, मनिटर १ सय १८ थान, मोबाइल ३५ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान, किबोर्ड, इन्टरनेट स्विच ५ थान, वाईफाई सेट २ थान, भारतीय सिम १३ थान, मिनि इन्भरटर २ थान, बीआर ०१ सिएक्स ५७९२ नम्बरको गाडी, प्र २–०३–०११ प १३६७ नम्बरको एक मोटरसाइकलसहित ४३ हजार नेपाली रुपैयाँ, ३५ सय कम्बोडियन रुपैयाँ र ३ थान पासपोर्ट बरामद गरेको प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । 

पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धानपछि अन्य मुद्दा चलाउने प्रहरी उपरीक्षक ढुङ्गेलले बताए । 

वीरगञ्जको भाटभटेनीमा जाँदा शंकास्पद गतिविधिमा संलग्न रहेको शंका लागेर पछ्याउँदै जाँदा चिनियाँ गिरोह फेला परेको उनले जानकारी दिए ।

यो कल सेन्टरमा काम गरेबापत नेपालीहरुलाई दैनिक ८०० रुपैयाँ दिएर काम लगाएकोसमेत पाइएको छ । 

पछिल्लो समय चिनियाँ आपराधिक गतिविधि मधेस केन्द्रित हुँदै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ