arrow

हेमजामा आलु महोत्सव

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
potato-nepali.jpg

कास्की । कास्कीको हेमजामा ‘सुन्दर ठाउँ हेम्जा जाऊ आलुका स्वादिष्ट परिकार खाऊ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ आलु महोत्सव गर्न लागिएको छ । 

पोखरा महानगरपालिका–२५ स्थित हेमजाको विष्णु पादुका क्लबको आयोजनामा यही चैत २५ देखि आगामी वैशाख ५ गतेसम्म ‘१२औँ राष्ट्रिय हेमजा आलु महोत्सव –२०८०’ सञ्चालन हुने भएको हो । 

महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रूपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले बताए । 

महोत्सवमा आलुबाट बनेका विभिन्न परिकार कबाब, रोस्ट, रोटी, साँधेको आलु, आलुको पकौडा, सेकेको आलु, आलुको बर्गर, अचारलगायतका परिकार बनाएको हेर्न र खान पाइने महासचिव श्रेष्ठले बताए । 

“आलुबाट धेरै परिकार बन्छ । कतिलाई त्यो पनि थाहा नहुन सक्छ”, महासचिव श्रेष्ठले भने, “महोत्वस अवलोकन गर्न आउनुहरूले आलुबाट बन्ने परिकार हेर्न र स्वाद पनि लिन पाउनुहुनेछ ।” 

महोत्सवको आकर्षणका रूपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदानको उपाय पनि दिइने उनले जानकारी दिए ।

महोत्सवमा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषिविज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बीउबिजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी रहेको महोत्सव संयोजक सुबिन श्रेष्ठले जानकारी दिए । 

साथै कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हाँस्यव्यङ्ग्य एवं लाइभ पप कन्सर्टलगायत रहने संयोजक श्रेष्ठले बताए ।

हेमजामा हुने आलु महोत्सव २०६६ सालदेखि आयोजना गर्न सुरु गरिएको महोत्वस संयोजक श्रेष्ठले बताए । समुद्री सतहबाट एक हजार ८८ मिटरको उचाइमा रहेको हेमजाको कुल क्षेत्रफल १२ हजार पाँच सय हेक्टरमध्ये करिब पाँच सय ५० हेक्टरमा आलुखेती हुँदै आएको छ । हेमजाका एक हजार २२ घरपरिवार कृषिमा आधारित छन् । जसमध्ये पाँच सय ४० किसानले व्यावसायिक आलुखेती गर्ने उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ