arrow

आफैँले आफैँलाई कारबाही गरेको नजिर नभएको भन्दै कांग्रेसले माग्यो रविको राजीनामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ६ मंगलबार
ravi-lamichhane-home-minist.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसले पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राजीनामाको विकल्प नभएको बताएको छ । 

प्रमुख प्रतिपक्ष कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामाको माग कायम राखेको हो । मंगलबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिपक गिरीले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन् । 

उनले प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको भन्दै आफैँ गृहमन्त्री हुँदा निष्पक्ष छानबिन हुन नसक्ने बताए । उनले आफैँले आफैँलाई कारबाही गरेको नजिरसमेत नभएको भन्दै मुद्दालाई प्रभावित पार्नेगरी गृहमन्त्री पदमा बसिराख्नु नहुने बताए । 

उनले भने, ‘पीडितहरुले सप्रमाण लिखित उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि त्यसमा प्राविधिक रुपमा सघाइरहेको थियो । तत्कालीन गृहमन्त्रीले छानविन अगाडी बढाउन निर्देशन पनि दिनुभएको थियो । यसै विच सत्ता समिकरण बदलियो र जो विरुद्ध अनुसन्धान गर्नुपर्ने हो, उहाँ अहिले गृहमन्त्री हुनुहुन्छ । जसरी पनि गृहमन्त्री नै चाहिन्छ भन्दै सरकारमा सामेल हुनुले निष्पक्ष छानविन प्रक्रियामा बाधा हुने देखिन्छ । तसर्थ हामी उहाँको राजीनामा माग गर्दछौँ । कुनै पनि न्यायको सिद्धान्तको आधारमा आफैँले आफैँलाई कारबाही गरेको नजिर हामिसित छैन । मुद्दालाई प्रभावित पार्ने गरी अगाडी बढ्नु कानुनी राज्यमा सुहाउँदो कुरो होइन । यसप्रति हाम्रो गम्भिर चिन्ता र चासो छ । हाम्रो एउटै विकल्प हो । त्यो हो राजीनामा । राजीनामा भन्दा अर्को विकल्प छैन । अरु कुनै टालटुलले हुनेवाला पनि छैन ।’

उनले यस सम्बन्धमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने भन्दै टालटुले जवाफले नहुने बताए । उनले स्वार्थको द्वन्द्व हुने गरी किन लामिछानेलाई गृहमन्त्री नियुक्त गरियो भनी प्रश्न गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ