क्रसबोर्डर अनलाइन कारोबार थप सहज, नेपालीका लागि भने अझै खुलेन
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
938
Shares
तस्बिर : फाइल
काठमाडौँ। अनलाइनमार्फत हुने क्रस बोर्डर कारोबार थप सहज भएको छ। नेपाल राष्ट्र बैङ्कले भारत तथा तेस्रो मुलुकबाट नेपालमा विप्रेषण पठाउन तथा नेपालमा रहेका भारतीय नागरिकलाई भारतमा विप्रेषण पठाउन यस्तो व्यवस्थालाई खुकुलो बनाएको हो।
शुक्रवार राष्ट्र बैङ्कले विदेशी विनिमय कारोबारसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यस अनुसार नेपालमा रहेका भारतीय नागरिकले कमाएको पैसा आफ्नो देशमा पठाउँदा दैनिक १५ हजारसम्म र मासिक एक लाखको सीमासम्म रकम भारत पठाउन सक्नेछन्।
अहिले भारतीय बैङ्क तथा भुक्तानी सेवा प्रदायकको एप्लिकेसनबाट नेपाली बैङ्क तथा भुक्तानी सेवा प्रदायकलाई मात्रै यस्तो भुक्तानी गर्न मिल्थ्यो। नयाँ व्यवस्थासँगै भारतमा गएका नेपाली र नेपालमा रहेका भारतीय नागरिकले राहत प्राप्त गर्नेछन्।
त्यस्तै, अब भारतमा रहेका नेपालीले समेत नेपालका बैङ्क खातामा क्युआर कोड स्क्यान गरेर पैसा पठाउन सक्नेछन्। नेपालीले विदेशमा सामान बिक्री गरेबापत समेत नेपाली बैङ्कको क्युआर कोडमार्फत भुक्तानी पाउनसक्ने व्यवस्था गरिएको छ। यो व्यवस्थाका कारण अब नेपाली सामान विदेशमा बिक्री गर्दा आउने गरेको भुक्तानी समस्या धेरै हदसम्म समाधान हुनेछ।
यद्यपि अझै पनि विदेश गएका नेपालीले बैङ्क तथा नेपाली भुक्तानी सेवा प्रदायकको एप्लिकेसनमार्फत् भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छैन। त्यस्तै, भारतबाहेक तेस्रो देशमा रहेका नागरिकले पनि उताको बैङ्क खाताबाट नेपाली खातामा रकम ट्रान्सफर गर्न मिल्ने व्यवस्था अझै गरिएको छैन।