arrow

मोटरसाइकलको स्वरुप परिवर्तन गर्नेविरुद्ध प्रहरी आक्रामक

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
bike-kaskipolice-mohan-thapa.jpg

पोखरा । स्वरुप परिवर्तन गरेर बजार थर्काउने र मानिस तर्साउने मोटरसाइकलविरुद्ध कास्की प्रहरी आक्रामक बनेको छ । यस्ता गतिविधिबिरुद्ध गत भदौ २५ देखि अभियान सुरुआत गरेको प्रहरी पछिल्लो समय आक्रामक देखिएको हो ।

प्रहरीले केही दिनअघि ६ सय ८१ वटा मोटरसाइकल नियन्त्रण लिनुका साथै मोटरसाइकलको स्वरुप परिवर्तनमा संलग्न ८ जना वर्कसप र सोरुम सञ्चालकलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएका मोटरसाइकल धनीलाई अभिभावकको रोहवरमा एक पटकलाई जरिवाना मात्र लिएर छाडिएको प्रहरीले जनाएको छ ।

साथै नियन्त्रणमा लिइएका वर्कसप र सोरुम सञ्चाकलाई ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाइएको छ ।

साथै आज प्रहरीले सूचना जारी गरेर कास्कीमा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउन निषेध गरिएको जनाएको छ । कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) तिलक मानन्धरले स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाए कडा कारबाही गरिने चेतावनी दिए ।

अटेरी गरी फेरि चलाएको पाइए कानुनबमोजिम कार्वाही गर्न बाध्य हुने सूचनामा उल्लेख छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार स्वीकृति नलिई सवारी साधनको साईलेन्सर, सिट, रंग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इन्जिन, च्यासिसमा परिवर्तन गर्ने वा ध्वनी हुने खालका पार्टपुर्जा जडान गर्न पाइँदैन ।

सूचनामा ‘स्वरुप परिवर्तन गरी सवारी साधन चलाउँदा दुर्घटना हुने, चर्को आवाजले ध्वनी प्रदुषण हुने, बिरामी, बृद्धबृद्धा, बालबालिका, विद्यार्थीहरु तथा संवेदनशील क्षेत्र (स्कूल तथा अस्पताल) मा प्रत्यक्ष असर गर्ने गर्दछ’, भनिएको छ ।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले मोटरसाइकलको स्वरुप फेर्ने सवारी धनीसँगै उनीहरुलाई सघाउने ग्यारेज (वर्कसप) सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका वर्कसप सञ्चालकमा पोखराको सृजनाचोकस्थित ३६० मोटर्सका सुशिल भुजेल, सिमलचौरस्थित पोखरा कस्टुमका सागर झाँक्री, बुम इन्फिल्ड सर्भिस सेन्टरका मोहम्मद रुस्तम, नयाँबजारस्थित रोयल इन्फिल्ड शोरुमका शुकबहादुर गुरुङ छन् ।

यसैगरी लामाचौरस्थित रहो चौधरी मोटरसाइकल वर्कसपका महेन्द्र चौधरी, रानीपौवास्थित न्यू दीपज्योति अटो पाट्र्सका मन्जर नासिम, दीपक वर्कसपका सन्दिप भगत, मालेपाटनस्थित क्लासिक मोटरसाइकलका विनोद विकलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे ।

अबका दिनमा कोही कसैले ध्वनी प्रदुषण गरी सवारीसाधन चलाएको वा स्वरूप परिवर्तन गरेको देखेमा कास्की प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयमा जानकारी गराइदिन इन्स्पेक्टर मानन्धरले आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ