arrow

सातै प्रदेशमा ‘कला प्रदर्शनी’को थालनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १८ शुक्रबार
nepal-lalitkala-pragya.jpg

काठमाडौँ । नेपाली ललितकला क्षेत्रमा यसवर्ष पहिलो पटक सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’को थालनी भएको छ । 

मुलुकको सङ्घीयताअनुरुप सातै प्रदेशलाई समान स्थान दिँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यसपटकबाट सातै प्रदेशमा प्रदेशस्तरीय कला प्रदर्शनीको सुरुवात गरेको हो । कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको उक्त प्रदर्शनी आगामी चैत १६ गतेसम्म चल्ने छ ।

सातै प्रदेशमा झण्डै एक महिनासम्म प्रादेशिक प्रदर्शनी हुने प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केली काफ्लेले जानकारी दिए । उनले अन्य प्रदेशका प्रदर्शनीको पनि तयारी लगभग पूरा भएको बताए ।

नेपाल ललितलका प्रज्ञा-प्रतिष्ठानको आयोजनामा ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रदेशस्तरमा समावेश गरिएका तस्बिर मात्रै काठमाडौँको राष्ट्रिय प्रदर्शनीमा समावेश गरिने छन् ।

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालिले भने, “प्रदर्शनीलाई विगतमा सिधैँ राष्ट्रिय (केन्द्र) भनेर काठमाडौँ केन्द्रित गरिएको थियो, त्यसो गर्दा भौगोलिक र आर्थिक रूपले सर्जकको सहभागिता खासै नभएको सन्दर्भमा पहिलो पटक प्रदेश प्रदर्शनीले अझ बढी उत्साह जगाएको छ ।” 

उनले यसपटक पुुरस्कार रकम थप गरिएको जानकारी दिए । 

कर्णालीको प्रदर्शनीमा ४६ कलाकारका ६६ कलाकृति समावेश गरिएका छन् । कर्णाली प्रदेशको प्रदर्शनी यही फागुन २१ गतेसम्म चल्नेछ । 

गण्डकीमा फागुन १९-२३ गतेसम्म, सुदूरपश्चिममा फागुन २०-२४ सम्म, लुम्बिनीमा फागुन २२-२६ सम्म, कोशीमा फागुन २९ देखि चैत ३ सम्म, मधेसमा चैत २ देखि चैत ५ सम्म तथा बागमतीमा चैत १२ देखि १६ गतेसम्म प्रदर्शनी गरिने छ । 

प्रदर्शनीबाट छानिएका कलाकृति २०८१ जेठ १५ गते काठमाडौँमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ मा राखिने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ