arrow

लागुऔषध दुर्व्यसनी नियन्त्रणमा स्थानीय तहको योगदान महत्वपूर्ण : आईजीपी कुँवर

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १५ मंगलबार
Basanta Kunwar-IGP.jpg
तस्बिर-फाइल

काठमाडौं। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनी नियन्त्रणका लागि स्थानीय तहको योगदान महत्वपूर्ण रहने बताएका छन्।

टोखा नगरपालिका र नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले आयोजना गरेको ‘लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना गीति वृत्तचित्र विमोचन’ कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सबैको घरमा प्रहरी पुग्न नसक्ने भएकाले लागुऔषध दुर्व्यसन नियन्त्रणमा घरपरिवार र स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने बताए।

‘दुव्यर्सनी नियन्त्रणका लागि घरपरिवार र अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ,’ उनले भने। कतिपय अभिभावकले आफ्ना छोराछोरीले गरेको गल्ती लुकाउन खोज्दा समस्या हुने गरेको महानिरीक्षक कुँवरको भनाइ थियो। नेपाल प्रहरी समाजसँग हातेमालो गर्दै अगाडि बढ्न खोजेको उनले बताए।

प्रहरी महानिरीक्षक कुँवरले विश्वव्यापी रुपमा जटिल अवस्थामा रहेको लागुऔषध दुव्यर्सनीका कारण राज्यले ऊर्जाशील युवा जनशक्ति गुमाउने खतरा रहेकाले यसको नियन्त्रणका लागि सबैको सहकार्य जरुरी रहेको उल्लेख गरे।

उनले नेपाल सरकारले विभिन्न समयमा लागुऔषधसम्बन्धी बनाएका कानुन कार्यान्वयनमा नेपाल प्रहरी सधैँ लागिरहेको बताए। प्रहरीको ७७ वटै जिल्ला कार्यालय र मुद्दा चल्ने कार्यालयबाट यसको नियन्त्रणका लागि काम भइरहेको उनको भनाइ थियो।

लागुऔषधमा फसेको जनशक्तिलाई पहिलेकै अवस्थामा ल्याउनका लागि प्रहरीले विभिन्न पुनःस्थापना केन्द्रमार्फत काम गरिरहेको महानिरीक्षक कुँवरले उल्लेख गरे।

प्रहरीले काठमाडौंको आसरा सुधार केन्द्र, विराटनगरको पुनःस्थापना केन्द्रमार्फत काम गरिरहेको छ। प्रहरीले प्रदेशस्तरमा पुनःस्थापना केन्द्र स्थापना गर्न लागिरहेको उनले बताए। समाजमा हुने अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न स्थानीय सरकारसँग सिसीक्यामरा जडानको क्षेत्रमा प्रहरीसँग भएको सहकार्यप्रति उनले धन्यवाद दिए।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले लागुऔषध नियन्त्रणका लागि घरघर र विद्यालयबाट अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले टोखा नगरपालिकाभित्र लागुऔषध दुर्वयसनी नियन्त्रणका लागि प्रहरीसँग सहकार्य गरेर यस्ता कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गरे।

ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले नेपालमा लागुऔषध दुव्यर्सनको अवस्था भयावह रहेको भन्दै यसलाई नियन्त्रण गर्न प्रहरीसँगै अभिभावक, परिवार, स्थानीय तहलगायत महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

ब्यूरोका अनुसार नेपालमा एक लाख ३० हजार व्यक्ति लागुऔषध दुव्यर्सनमा परेका छन्। प्रहरीका अनुसार चालू आवमा माघ मसान्तसम्म लागुऔषध दुर्व्यसनमा तीन हजार पाँच सय ९९ व्यक्ति पक्राउ परेका छन्।

टोखा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बिसीले लागुऔषधलाई स्थानीय तहबाटै नियन्त्रण गर्नका लागि टोखा नगरपालिका लागिरहेको बताए।

टोखाले स्थानीय तह, विद्यालय र क्लबबाट लागुऔषध नियन्त्रणमा काम गरिरहेको उनको भनाइ थियो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा, टोखा नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, कर्मचारी एवं विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता रहेको थियो।

सो अवसरमा लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतना गीति वृत्तचित्र विमोचन गरिएको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ